
काठमाडौं । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्यप्रति सरकारको गम्भीर उदासिनता र असफलता देखिएको टिप्पणी गरेका छन् ।
उनले भने, ‘मेरो नेतृत्वको सरकारले कीर्तिपुरको रंगशालामा फ्लडलाइट जडान गर्न ठेक्का सम्झौता गरिसकेको थियो । तर, त्यसैबीच हामी सरकारबाट बाहिरियौँ । त्यसपछि प्रधानमन्त्रीकै भाषामा शक्तिशाली दुई तिहाइको सरकार बनेको दाबी गर्दै उहाँले पहिलो निर्णयमै ३०० दिनभित्र फ्लडलाइट र प्याराफिटसहितको अन्तर्राष्ट्रिय रंगशाला निर्माण सम्पन्न गर्ने घोषणा गर्नुभयो ।’
तर, आज एक वर्ष अर्थात् ३६५ दिन बितिसक्दा समेत कार्यान्वयन नभएको भन्दै उनले सरकारको प्रतिबद्धता र क्षमतामाथि प्रश्न उठाए । दाहालले भने, ‘जोडियो त फ्लडलाइट ? बन्यो त प्याराफिट’ ?
उनले भने, ‘योजना बनाउन, बैठक राख्न र माइक समातेर उद्घोष गर्न सकिन्छ, तर विकासका काम योजनावद्ध ढंगले निरन्तरता दिइनु पर्दछ । तर, अहिले सरकारमा त्यो दृष्टिकोण र इच्छाशक्ति देखिएको छैन । ’ सरकारलाई घोषणाको भन्दा कार्यान्वयनमा केन्द्रित हुन उनको आग्रह थियो ।