• २०८३ असार ३
  • 2026 June 17, Wednesday

मन्त्रीकाे घुसकाण्डमा कांग्रेस मौन, शेखरले भने– साक्षी किनाराका सदर भयौँ

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता घुसकाण्डमा मुछिएको स्पष्ट प्रमाण बाहिरिए पनि अहिलेसम्म कुनै कारबाही नभएकोमा नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गम्भीर असन्तुष्टि जनाएका छन्।

एक अडियो सार्वजनिक भएपछि गुप्ताले घुस लिएको पुष्टि हुने अवस्था आए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले कारबाही गर्नुको सट्टा उनलाई मन्त्रिपरिषद् बैठकमै बोलाएकोप्रति कोइराला खिन्न देखिएका छन्।

कोइरालाले आरोप लगाए अनुसार, घुसको रकम भएको ब्रिफकेस मन्त्री निवासमै बुझाइएको प्रमाण रहे पनि गुप्ता कारबाही होइन, प्रधानमन्त्रीसँगको ‘मिठो संवाद’ मार्फत बैठकमा सहभागी हुने मौका पाइरहेका छन्।

‘यहाँको चलन यस्तै रहेछ,’ कोइरालाले टिप्पणी गरे, ‘मन्त्री क्वाटरमा बिहानै बिचौलियाले घुसको ब्रिफकेस छाड्छन्, त्यसपछि प्रमाण भेटिए पनि कारबाही हुँदैन। उल्टै प्रधानमन्त्रीसँग कुरा गरेर मन्त्री बैठकमा सहभागी हुन्छन्।’

उनले विपक्षी दलहरूको भूमिकालाई ‘कर्मकाण्डी’ भनेका छन् भने आफ्नै दल, नेपाली कांग्रेसमाथि पनि ‘साक्षी किनाराका सदर’ भएको आरोप लगाएका छन्।