• २०८३ असार ३
  • 2026 June 17, Wednesday

एमालेको संगठित सदस्यता नवीकरणका लागि अब परीक्षा अनिवार्य

काठमाडौं। नेकपा (एमाले) को संगठित सदस्यता नवीकरण गर्न परीक्षा दिनुपर्ने भएको छ। केन्द्रीय संगठन विभागको सोमबारको बैठकले ‘सदस्यता नवीकरण पूर्वअनिवार्य रूपमा परीक्षा दिनुपर्ने’ निर्णय गरेको हो।

उक्त बैठकका निर्णयबारे जानकारी दिन विभागका सचिव माधव ढुंगेलले मंगलबार जारी गरेको विज्ञप्तिमा सदस्यता नवीकरणअघि परीक्षा लिने उल्लेख छ।

यसबारे हामीले विभागका सचिव ढुंगेललाई कस्तो परीक्षा दिने व्यवस्था गर्न लागिएको हो भनेर सोधेका छौं। उनले पार्टीका नीति, सिद्धान्त, दृष्टिकोण, विचारलगायतबारे जानकारी छ कि छैन भन्ने बुझ्न सामान्य परीक्षा लिइने बताए।

‘हामी प्रशिक्षण दिन्छौं र अन्तिममा वस्तुगत प्रश्न सोध्छौं, सही जबाफमा ठिक चिह्न लगाए पुग्छ,’ उनले भने, ‘अहिले यस्तो परीक्षा भौतिक रूपमा हुन्छ भने पछि अनलाइनबाट पनि परीक्षा दिन पाउने व्यवस्था मिलाउँछौं।’  एमालेमा ५ लाख ५० हजार संगठित सदस्य छन्।