
काठमाडौं । प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा पेश भएको संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाको मङ्गलवारको बैठकमा प्रस्तुत हुने भएको छ ।
मङ्गलवार दिउसो सवा १ बजेका लागि तय भएको राष्ट्रियसभाको बैठकको कार्यसूचीको दोस्रो नम्बरमा संघीय निजामती सेवा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव रहेको छ ।
प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रस्तुत गर्ने कार्यसूची रहेको थियो । तर, घुस लेनदेनबारे कुराकानी गरेको अडियो सार्वजनिक भएसँगै मन्त्री गुप्ताले मङ्गलवार बिहानै प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा दिइसकेका छन् ।
मन्त्री गुप्ताले राजीनामा दिएसँगै संघीय निजामती विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीशुब्बा गुरुगले प्रस्तुत गर्ने भएका छन् ।