एसएसपी बोगटीको नेतृत्वमा स्पेन भ्रमणबारे छानबिन समिति, छानबिन थालियो

काठमाडौँ । स्पेनको सेभिल्लामा सम्पन्न संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी गराउन भनेर नेपालबाट असम्बन्धितहरूलाई लगेको भनिएको घटना छानबिन गर्न समिति गठन गरिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरत एसएसपी होविन्द्र बोगटीको नेतृत्वमा समिति गठन गरिएको हो । समितिमा मानव बेचबिखन ब्युरोका एसपी रुगम कुँवर सहित ६ जना सदस्य छन् ।

गृहमन्त्री रमेश लेखकको प्रहरीलाई सो घटना अनुसन्धान गर्ने जिम्मेवारी दिएसँगै समिति गठन गरिएको सीआईबीका एक जना उच्च अधिकृत बताए ।

प्रधानमन्त्री केपी ओली सहभागी कार्यक्रममा असम्बन्धित व्यक्तिहरूलाई समेत बिचौलियाले कागजात बनाएर पठाएको भन्दै संघीय संसदमा सांसदहरुले प्रश्न उठाइरहेका छन् ।

सेभिल्लामा ३० जुनदेखि २ जुलाईसम्म सम्मेलन चलेको थियो । त्यसमा सहभागी गराउन बिचौलियाहरूले रकम असुलेर केही व्यक्तिहरूलाई भिजिट भिसामा विदेश पठाएको आरोप छ ।

भिजिट भिसामा त्यसतर्फ गएका र फर्के–नफर्केको यकिन गरेपछि पठाउने गिरोहबारे अनुसन्धान गरिने गृहका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

उनले भने, ‘विस्तृत अनुसन्धान पछि कोही संलग्न देखिए फौजदारी मुद्दा अघि बढाउने निर्णय भएको छ ।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१