• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

साउन २१ भित्र विद्यालय शिक्षा विधेयक पारित गर्न शिक्षक महासंघको अल्टिमेटम

काठमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक साउन २१ गतेभित्र प्रतिनिधि सभाबाट पारित नगरे आन्दोलनमा जाने चेतावनी दिएको छ। शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत महासंघले सरकारलाई स्पष्ट रुपमा अल्टिमेटम दिएको हो।

महासंघले गत वैशाख १७ गते सरकारसँग भएको लिखित सहमति कार्यान्वयनमा गम्भीरता नदेखिएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ। महासंघका पदाधिकारीहरूका अनुसार असार १५ गतेभित्र विधेयक पारित गर्ने सरकारको प्रतिबद्धता स्वयम् सरकारले उल्लंघन गरेको छ।

‘अब आन्दोलनमा जानु बाहेक विकल्प छैन ।’ शिक्षक नेताहरूले बताएका छन्। उनीहरूले आन्दोलनको स्वरूप र कार्यक्रमहरू समयअनुसार सार्वजनिक गरिने जानकारी दिएका छन्।

शिक्षक महासंघका अनुसार विधेयक प्रतिनिधि सभामा पारित गर्न ढिलाइ हुनु, शिक्षकलाई बाधक देखाउने प्रयास हुनु र शिक्षा समितिमा विधेयक अल्झिनु सरकारको असहयोगपूर्ण रवैया हो।

महासंघले अस्थायी शिक्षक स्थायी गर्ने प्रक्रिया, स्थायी शिक्षकको बढुवा, विभागीय कारबाही, विद्यालय कर्मचारी व्यवस्थापन, इसीडी शिक्षकहरूको समायोजन र ट्रेड युनियन अधिकारसम्बन्धी विषयमा भएको सहमति उल्ट्याउन षड्यन्त्र भइरहेको आरोप लगाएको छ।

‘लिखित सहमति कार्यान्वयन नगर्नु सरकारको लाचारीपन हो,’ महासंघले भनेको छ।