माधव नेपालको स्पष्ट सन्देश: ‘एमालेसँग एकता सम्भव छैन, भ्रममा नपर्नु’

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नेकपा (एमाले) सँग एकताको कुनै सम्भावना नरहेको बताएका छन् । आज (शुक्रबार) पार्टी एकताको लागि आयोजित समारोहलाई सम्बोधन गर्दै उनले एमालेसँग एकता हुन्छ भनेर भ्रममा नपर्न नेता तथा कार्यकतालाई आग्रह गरे ।

‘सम्भावनाको कुरा गर्नुहुन्छ भने अहिले नेकपा (एमाले) सँग एकताको कुनै सम्भावना छैन । अहिलेको विन्दुमा उभिएर भन्दाखेरी एमालेसँग एकताको कुनै सम्भावना छैन । त्यहाँभित्रको अवस्था हामीले देखिराखेका छौं । त्यसप्रति लसपस कसैको छ भने, आशा, अपेक्षा ज्यादा छ भने मेरो भन्नु केही पनि छैन,’– उनले भने ।

साथै, उनले एमालेका नेताहरु एकीकृत समाजवादीलाई कसरी सिध्याउन सकिन्छ र र कुन–कुन तरिका अवलम्बन गर्न सकिन्छ भनेर निरन्तर लागिरहेको उनले बताए । ‘यो पार्टीसँग उसको सम्बन्धको कुरा गर्नुहुन्छ भने उसका नेताहरुको अभिव्यक्तिले नै प्रष्ट पारिसकेको छ ।

यो पार्टीलाई कसरी सिध्याउने, यो पार्टीलाई कसरी समाप्त पार्ने, त्यसको निम्ति कुन–कुन तरिका अवलम्बन गर्ने, कहाँ प्रहार केन्द्रीत गर्ने ? यी सबै कुराहरु भनिरहेको, गरिरहेको कुराबाट हामीले बुझिरहेका छौं । त्यसो हुनाले कुनै पनि हिसाबको भ्रममा पर्ने काम नगर्नु,’– उनले भने ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१