• २०८३ असार ३
  • 2026 June 17, Wednesday

एमालेको पोलिटब्युरो बैठक सुरु, विधान संशोधनमा केन्द्रित छलफल

काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सुरु भएको छ। बैठकमा पार्टीको विधान संशोधनसम्बन्धी प्रस्तावमा छलफल जारी छ।

बैठक हिजोबाट सुरु भएको हो। आज पनि जारी बैठकमा पोलिटब्युरो सदस्यहरूले विधान संशोधन प्रस्तावमा आ–आफ्ना धारणा राखिरहेका छन्। प्रत्येक सदस्यलाई आफ्नो धारणा राख्न पाँच मिनेटको समय दिइएको छ।

एमालेले भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन गर्ने तयारी गर्दै आएको छ। त्यसका लागि विधान संशोधन प्रस्तावलाई अन्तिम रूप दिन साउन ५ गते केन्द्रीय कमिटी बैठक बोलाइएको छ।

पार्टी नेताहरूका अनुसार विधान संशोधनमार्फत पार्टी संरचना, नेतृत्व चयन प्रक्रिया, कमिटीहरूको कार्यशैली र जिम्मेवारी बाँडफाँडमा सुधार गर्ने तयारी गरिएको छ। विधान महाधिवेशनअघि पार्टीमा व्यापक बहस गराउने उद्देश्यले पोलिटब्युरो बैठकमार्फत छलफल थालिएको हो।

पार्टी स्रोतका अनुसार बैठक केही दिनसम्म जारी रहनेछ।