
पछिल्ला १२ घण्टामा देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सबैभन्दा बढी वर्षा कास्कीको लुम्लेमा १५१ मिलिमिटर मापन भएको छ। त्यसपछि सुनसरीमा १३०, धनकुटा र इलामको माइपोखरीमा समान १२१ मिलिमिटर वर्षा मापन गरिएको छ। यी चार स्थानमा अति भारी वर्षा भएको हो भने अन्य थुप्रै जिल्लामा पनि भारी वर्षा भएको विभागले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार पूर्वी नेपालमा भारी वर्षा गराउने प्रणाली सक्रिय थियो, जसले क्रमशः मध्यक्षेत्र हुँदै पश्चिमतिर सर्दै गरेको छ। यो अवस्था भोलिसम्म रहने र त्यसपछि विस्तारै कमजोर हुँदै जाने जानकारी उनले दिएका छन्।
देशभर हाल मनसुनी वायुको प्रभाव देखिएको छ भने मनसुनको न्यूनचापीय रेखा औसत स्थानभन्दा अलि उत्तरतिर सरेको छ, जसले गर्दा वर्षा गराउने प्रणाली विकसित भएको मौसमविद् अधिकारीले बताए।
पछिल्लो २४ घण्टामा सिन्धुपाल्चोक, पर्वत, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर, तनहुँ, खोटाङ, सोलुखुम्बु, सङ्खुवासभा, तेह्रथुम, म्याग्दी, झापा लगायतका पहाडी जिल्लामा पनि भारी वर्षा भएको छ।
बाढी पूर्वानुमान महाशाखाले पर्वतको मोदी खोलामा जलसतह सतर्कता तह नजिक पुगेकाले नदी किनारमा बसोबास गर्नेहरूलाई सचेत रहन आग्रह गरेको छ। यसैगरी इलामको कन्काइ मैनाचुली र सुनसरीको सार्दुल खोलामा पनि सतर्कता तह आसपास जलसतह पुगेको थियो। सुनसरीकै बूढीखोला (दुहबी जलमापन केन्द्र) मा राति १ः२० बजे खतराको तह पार भएपछि साइरनसमेत बजाइएको थियो।