विद्या भण्डारी पुनः सक्रिय राजनीतिमा फर्किनु उचित हुँदैन-महेश बस्नेत

नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी राजनीतिमा पुनः सक्रियता आन्तरिक लोकतन्त्र र पार्टी प्रक्रियासँग मेल नखाने बताएका छन्। शनिबार बसेको पोलिटब्युरो बैठकमा बस्नेतले राष्ट्रपतिसम्मको गरिमा वहन गरेका व्यक्तिले सक्रिय राजनीति गरेर त्यस मर्यादामा आँच ल्याउनु नीतिगत र नैतिक रूपमा गलत हुने तर्क गरेका छन्।

उनले पूर्वराष्ट्रपतिका रूपमा भण्डारीको पार्टी सदस्यता नवीकरण व्यक्तिगत रूपमा होइन, पार्टीको केन्द्रीय कमिटीबाट औपचारिक निर्णयबाट मात्र हुनुपर्ने बताए। भण्डारीको नाममा गुट बनाएर पार्टी कमजोर बनाउने प्रयास भइरहेको भन्दै उनले यस्तो चलखेल तुरुन्त रोक्न आह्वान गरे।

बस्नेतले भण्डारी, शेखर कोइराला र नारायणकाजी श्रेष्ठबीच भेटघाट, वाम एकताको बहानामा भइरहेका छलफल तथा सत्ता समीकरणका प्रयास एमालेलाई कमजोर पार्ने योजनाको हिस्सा हुन सक्ने चेतावनी पनि दिए। यसरी बाह्य चलखेलमार्फत एमालेमाथि प्रभाव पार्न खोज्नु कम्युनिस्ट विरोधी तत्वहरूको षड्यन्त्र भएको उनको भनाइ थियो।

उनले ७० वर्षे उमेर हद, दुई कार्यकालको सिमाना, र पार्टी नेतृत्व चयन जस्ता संवेदनशील विषयमा विधिसम्मत र क्षमताका आधारमा निर्णय गर्नुपर्ने सुझाव दिए। बस्नेतका अनुसार उमेर वा कार्यकालको आधार होइन, व्यक्ति विशेषको क्षमताले नेतृत्व तोकिनुपर्छ।

त्यसैगरी, पार्टीभित्र अध्यक्ष केपी ओलीको नेतृत्व अझै आवश्यक रहेको भन्दै उनले ओलीकै नेतृत्वमा आगामी कार्यकाल अघि बढ्नुपर्ने प्रस्ताव गरेका छन्।

उनका प्रमुख  विधानसम्बन्धित सुझावहरुः

  • स्थायी कमिटीको संख्या २५ पुर्‍याउने

  • उपत्यका विशेष कमिटी गठन गर्ने

  • प्रवासमा युवा, विद्यार्थी, मजदुर र महिला संगठनहरू विस्तार गर्ने

  • बसाइँसराइ बढेका जिल्लामा सक्रिय सम्पर्क कमिटीहरू बनाउने

यसका साथै उनले सचिवालयमा बहुमतको नाममा जबर्जस्ती निर्णय गराउने अभ्यास र निर्णय मनपर्ने भएमा समर्थन, नभएमा आलोचना गर्ने प्रवृत्तिको अन्त्य गर्न पनि आग्रह गरेका छन्।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१