
काठमाडौं । गृहमन्त्री रमेश लेखकले कांग्रेसका महामन्त्री गगन थापा र प्रमुख सचेतक श्याम घिमिरेसँग छलफल गरेका छन् । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा गृहमन्त्रीले महामन्त्री थापा र प्रमुख सचेतक घिमिरेसँग विवादित विधेयकहरुबारे छलफल गरेका हुन् ।
भेटमा सरकारले सदनमा पेश गरेको भूमि विधेयकबारे कुरा भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । भूमि विधेयकको विषयमा सत्तारुढ दल एमाले र कांग्रेसबीच साझा धारणा बन्न सकेको छैन ।
सदनमा पेस गरेको विधेयक फास्ट्र ट्रयाकबाट पारित गर्नपर्ने एमालेको मत छ । तर, कांग्रेसका महामन्त्री थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले संशोधन प्रस्ताव हालेका छन् । यसअघि पनि कार्यसूचीमा राखेको भए पनि कांग्रेसले आपत्ति जनाएपछि हटाइएको थियो ।
यस्तै, नेकपा एमालेका सांसदहरूले राष्ट्रियसभामा संघीय निजामती विधेयकमा हालेको संशोधन प्रस्तावमा पनि कांग्रेसका आपत्ति छ । एमालेका ५ सांसदले कुलिङ पिरियड नराख्ने गरी संशोधन प्रस्ताव राखेका थिए ।