• २०८३ असार ३
  • 2026 June 17, Wednesday

केन्द्रीय कमिटी बैठकमा ओलीको भनाइ– पार्टीलाई तोडफोडकारी तत्वबाट जोगाउन जरूरी

काठमाडौं। नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विभाजन गर्ने तत्वबाट पार्टीलाई जोगाउनुपर्ने भएकोले एकताबद्ध हुन आग्रह गरेका छन्।

च्यासलमा सोमबार सुरू भएको केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै अध्यक्ष ओलीले जनतामा एमालेप्रति आकर्षण रहेकोले पार्टीपङ्ति एकताबद्ध हुनुपर्ने बताए।

‘पार्टी विभाजन गर्ने, तोडफोड गर्ने विभाजनकारी तत्वबाट पार्टीलाई जोगाउनुपर्नेछ, त्यसका लागि पार्टी पङ्ति एकताबद्ध हुनुपर्छ,’ अध्यक्ष ओलीले केन्द्रीय कमिटीमा राखेको धारणाबारे जानकारी दिँदै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पत्रकारहरूसँग भने, ‘२०७७ सालयता एमालेलाई कमजोर बनाउने पर्यत्न भइरहेका छन्, २०७८ सालमा केही भयो, ओलीबिनाको एमाले र एमालेबिनाको देशको परिकल्पना पनि भइरहेका छन्।’

उनले पार्टीभित्र नेताहरूबीच केही विषयमा पनि विमति नरहेको दाबी गरेका थिए। ‘सांगठनिक रूपमा २८ प्रतिशतले सदस्यता वृद्धि भएको छ, जनताका बीचमा एमालेप्रति आकर्षण छ,’ उनले भने, ‘तर पार्टी पङ्तिमा अन्योल हुनु भएन।’

अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी राजनीतिमा फर्कन हुन्छ कि हुन्न भन्नेबारे केन्द्रीय कमिटीले निर्णय लिने पनि बताएका छन्। अध्यक्ष ओली र भण्डारीबीच च्यासलमै आइतबार भेटवार्तासमेत भएको थियो।