काठमाण्डु गोर्खाज नयाँ लोगो र रणनीतिसहित एनपीएल दोस्रो संस्करणमा

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि काठमाण्डु गोर्खाज टोली नयाँ पहिरन र रणनीतिसहित मैदानमा आएको छ। टोलीले आफ्नो नाम परिवर्तन गरी नयाँ लोगो पनि सार्वजनिक गरेको छ। नयाँ लोगोमा काठमाडौं उपत्यकाको संस्कृति र सम्पदालाई समेटिएको छ, जसमा काठमाडौं, भक्तपुर, ललितपुर र नुवाकोटका तत्त्वहरू मिसाइएको छ।

पहिले काठमाण्डु गुर्खाजको रूपमा खेल्ने टोलीले अब ‘काठमाण्डु गोर्खाज’ नामबाट प्रतिस्पर्धा गर्नेछ र सामाजिक संजालमा पनि नयाँ नाम सक्रिय गरिएको छ। गत सिजन पाँचौं स्थानमा पुगेपछि प्लेअफबाट बाहिरिएपनि, टोलीले सुधार गर्दै नयाँ रूप लिएर अगाडि बढ्ने योजना बनाएको छ।

टोलीले मोन्टी देसाईलाई मुख्य प्रशिक्षकको रूपमा नियुक्त गरेको छ भने वसन्त शाही, सुरज शाक्य र पुरन तिरुवा लगायतका सहायक टोली सदस्यहरूलाई निरन्तरता दिएको छ। मार्की खेलाडी करण केसीले प्रशिक्षक मोन्टीको नेतृत्वमा उपाधि जित्ने लक्ष्य रहेको बताए।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट सुविधा पूरा गरेर रातिको खेल सञ्चालन गर्ने तयारीमा रहेको बताए।

गोर्खाजले हस्पिटालिटी पार्टनरको रूपमा ललितपुरको ग्वार्कोस्थित पाँचतारे रोयल टुलिप काठमाडौं होटलसँग सम्झौता गरेको छ भने मुख्य प्रायोजकका रूपमा वर्ल्डलिंकसँग सम्झौता गरिएको छ।

टोलीले पहिलो सिजनका प्रमुख खेलाडीहरू जस्तै करण केसी, भीम सार्की, शाहब आलम, रशिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठलाई पनि रिटेन गरेको छ। उनीहरूको प्रशिक्षण थन्डर बोल्ट क्रिकेट एकेडेमीमा हुनेछ, जुन जेम्स स्कुल परिसरमा रहेको आधुनिक सुविधा सम्पन्न एकेडेमी हो।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१