क्रिकेट कुटनीतिः नेपाल–भारत सम्बन्धको नयाँ आयाम

नेपाल–भारतबीचको सम्बन्ध बहुआयामिक छ । लोकतन्त्रप्रतिको गहिरो प्रतिवद्धता, सांस्कृति र भाषिक समानता, आर्थिक–व्यापारिक सहकार्य, धार्मिक, सीमा क्षेत्रमा खुला र सहज आवागमन, सीमा वारपार, रोजगारीको सहज सुविधा, पर्यटन प्रवद्र्धनमा परस्परको सहयोग लगायत धेरै धागाहरुले दुई सार्वभौभ देशलाई एकअर्कासँग जोड्छन् ।

पछिल्ला वर्षहरुमा खेलकुद क्षेत्रले सम्बन्धलाई नयाँ उचाई दिएको छ । दुबै देशमा क्रिकेट सबैभन्दा रुचाइने खेल हो । १९८३ मा कपिल देवको कप्तानीमा एकदिवसिय क्रिकेट जितेयता नै विश्व क्रिकेटको शक्ति राष्ट्रका रुपमा भारत परिचित छ । त्यसयता, नै भारतीय टिमका हरेक खेलाडीहरुको खेल नेपालीहरुले नियाल्दै आएका छन् । सचिन तेन्दुलकर, राहुल द्रविड, महेन्द्र सिंह धोनी, विराट कोहलीलगायत भारतीय स्टारले नेपालका विभिन्न पुस्तामा अलग छाप छाड्ने गरेका छन् । पुराना र नयाँ पुस्ताबीच बहस नै चल्ने गर्छ : सचिन उत्कृष्ट कि विराट ।

२००७ मा इन्डियन प्रिमियर लिग आईपिएल सुरु भएयता क्रिकेट खेलको राजधानी जस्तै बनेको छ , भारत । नेपालमा पनि पछिल्लो केही दशकयता क्रिकेटले उल्लेख्य प्रगति गरेको छ । सन् २०१४ टी–ट्वान्टी विश्वकप खेलेर नयाँ इतिहास रचेको नेपालले त्यसको चार वर्षभित्रै एकदिवसीय मान्यता पाएको थियो । सन् २०२४ मा फेरि एकपटक नेपालले टी–ट्वान्टी विश्वकपमा छनोट भएर आफ्नो प्रगति विश्वसामु प्रस्तुत गर्‍यो । नेपाली खेलाडीहरुको प्रदर्शन पनि वैश्विक जगत्मै सराहनीय छ । जस्तो, २०२४ मा कतारविरुद्ध टी २० अन्तर्राष्टिन्य खेलमा दीपेन्द्र सिंह ऐरीले एकै ओभरमा ६ वटा छक्का प्रहार गरेर नयाँ विश्वकिर्तिमान बनाए ।

त्यस्तै नेपालले चीनमा भएको १९ औं एशियाली खेलकुदमा मंगोलियाविरुद्ध २ सय ७३ रनको विजय हासिल गर्दै टी–ट्वान्टी खेलमा फराकिलो अन्तरको जीतको रेकर्ड बनायो । नेपालका सन्दीप लामिछानेले आईपिएलमा चर्चित क्लबहरुबाट खेल्दै लोकप्रियता बनाएका छन् । अब हाम्रा खेलाडीलाई पनि भारतीय दर्शकले फलो गर्न थालेका छन् । यी सम्बन्धहरुले दुई देशका जनतालाई क्रिकेट खेलमार्फत थप प्रगाढ हुन प्रेरित गरिरहेको छ ।

दशक लामो सहकार्य
काठमाडौं स्थित भारतीय दुतावास विशेष आग्रहमा बीसीसीआईले नेपाली राष्ट्रिय क्रिकेट टोली (पुरुष) लाई अहिले भारतमा प्रशिक्षण दिईरहेको छ । यो प्रशिक्षण अभियान आगामी अक्टोबरमा ओमानमा हुने आईसीसी पुरुष टी–२० विश्वकप छनोटको तयारीका लागि महत्वपूर्ण सावित हुनेछ । यसअघि प्रशिक्षण शिविरका क्रममा महाराष्ट्रको बरोडा र गुजरात क्रिकेट संघसँग त्रिकोणात्मक अभ्यास शृंखलामा नेपाल सहभागी भइसकेको छ । यस्ता कदमहरूले नेपाललाई क्रिकेटमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उकास्न ठूलो सहयोग गर्छन् ।

भारतले छिमेक पहिलो नीतिअनुसार नेपालसँगको सम्बन्ध सुदृढ गर्ने दीर्घकालीन रणनीतिक पहल गरिरहेका बेला क्रिकेट खेलले पनि यसको लाभ उठाउनसक्छ । नेपालका विभिन्न क्रिकेट टोलीहरू—पुरुष, महिला तथा यू–१९—ले भारतीय शहरहरूमा प्रशिक्षणका अवसर पाइरहेका छन् । नेपाल क्रिकेट संघले आवश्यक पहल गर्दा यो सुविधा थप बढ्नसक्छ ।

नेपालको क्रिकेट हाल स्थायीत्वको चरणमा प्रवेश गरिरहेको छ । सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेलेको नेपालले सन् २०१८ मा एकदिवसीय मान्यता पायो । सन् २०२४ मा फेरि एकपटक विश्व टी–२० मा सहभागी हुँदै नेपालले आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति पुनः प्रमाणित गर्‍यो ।

नेपालले २०२३ को एशियन गेम्समा ऐतिहासिक २७३ रनको जित हासिल गर्दै अन्तर्राष्ट्रिय टी–२० क्रिकेटको इतिहासमै उच्च जित हासिल गर्‍यो । दीपेन्द्र सिंह ऐरीले एकै ओभरमा ६ छक्का हानेर कीर्तिमान बनाउनु, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजवंशी जस्ता खेलाडीले निरन्तर राम्रो प्रदर्शन गर्नु नेपाली क्रिकेटको उज्यालो भविष्यका संकेत हुन् । तर, यी उपलब्धिहरूको पृष्ठभूमिमा भारतको सहयोगलाई बेवास्ता गर्न सकिंदैन ।

सन् २०१३ मा भारत सरकारले नेपाली क्रिकेट संघलाई बस हस्तान्तरण गरेको थियो । त्यस्तै २०२३ को अक्टोबरमा भारतीय दूतावासले नेपाल क्रिकेट संघलाई व्यवसाहिक खेल उपकरण गराएको थियो । २०२४ को जनवरीमा भारतका विदेशमन्त्री उस जयशंकरले नेपाली टोलीलाई भेटेर सहयोगको प्रतिवद्धता व्यक्त गरेका थिए । त्यही वर्ष अगस्टमा नेपाली टिमले बंग्लोरस्थित रंगशालामा अभ्यास गरेको थियो । नेपाल–भारतबीच पछिल्ला वर्षहरुमा यस्तो सद्भाव र आपसी समन्वय चलिरहेको छ ।

नेपाल प्रिमियर लिगमा शिखर धवन जस्ता भारतका प्रथम श्रेणीका खेलाडीहरू सहभागी भईसकेकाछन् । यस्ता माझिएका अनुभवी खेलाडीको सहभागिताले नेपाली खेलाडीको अनुभव बृद्धि गर्नुका साथै प्राविधिक सशक्तिकरणमा टेवा पुर्‍याएको छ ।

अर्कातर्फ, नेपाली खेलाडी सन्दीप लामिछानेले आइपीएलबाट अन्तर्राष्ट्रिय ख्याति कमाए । उनीले दिल्ली क्यापिटल्स (त्यतिबेला दिल्ली डेयरडेभिल्स) बाट खेलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याए । यो आदानप्रदान केवल खेलाडीको स्तरमा सीमित छैन । यसले दुई देशबीचको आम–जनताको बिचको आत्मीयता र मनको दूरी घटाउने काम पनि गरिरहेको छ ।

भारतका पूर्व कप्तान महेन्द्र सिंह धोनी र सचिन तेन्दुलकरले नेपाल भ्रमण गर्दै नेपाली खेलाडीहरुमा रहेको प्रतिभाको प्रंशसा समेत गरेका थिए । यी घटनाक्रमले दुई देशबिचको आत्मीय सम्बन्धमा क्रिकेटको मिठास थपेकाछन् ।

अबको बाटो ?
प्रगतिको बाटो लम्किरहेको नेपाली क्रिकेटले विश्व क्रिकेटकै पावर हाउस मानिएको भारतसँगको समन्वयलाई निरन्तरता दिन जरुरी छ । यसका लागि नेपाल क्रिकेट संघमात्रै नभएर नेपाल सरकारले नै विशेष पहल गर्न जरुरी छ । दक्षिण एशियाली भूगोलमा क्रिकेट सबैभन्दा धेरै रुचाइएको खेल हो ।

विगतमा श्रीलंका र बंगलादेशको क्रिकेटको स्तर उकास्नका लागि सहयोग गरेको भारतले पछिल्ला वर्षहरुमा अफगानिस्तानलाई पनि दिल खोलेरै सहयोग गरेको छ । अफगानिस्तानको क्रिकेट टिमलाई सहयोग गर्नका लागि उसले उत्तर प्रदेशस्थित ग्रेटर नोयडा स्पोर्टस् कम्प्लेक्स ग्राउन्ड उपलब्ध गराएको छ ।

जसलाई अफगानिस्तानको राष्ट्रिय क्रिकेट टिमले आफ्नो गृहमैदानका रुपमा प्रयोग गर्छ । सिमित स्रोत र त्रिभुवन विश्वविद्यालयस्थित मैदानमा अभ्यास गरेकै भरमा अन्तर्राष्ट्रिय स्तरको छवि बनाएको नेपाली क्रिकेट टिमले भारतबाट यस्ता सहयोग पाउन सक्छ , तर त्यसका लागि सरकारले विशेष पहल गर्न आवश्यक देखिन्छ ।

नेपालको क्रिकेट हब मानिएका विराटनगर, वीरगन्ज, नेपालगन्ज, धनगढी र बैतडीजस्ता शहरबाट भारतसँगको दूरी निकै नजिक छ । त्यसैले, सीमा जोडिएका भारतका उत्तर प्रदेश र बिहार राज्यका टिमहरुसँग नेपालका क्षेत्रीय र स्थानीय टिमहरुबीच प्रतिस्पर्धा गराउने वातावरण पनि बनाउन जरुरी छ । यसले खेलाडीहरुमा नियमित अभ्यास गर्ने उर्जासँगै नयाँ कुरा सिक्ने अवसर पनि निर्माण गर्छ ।

हामीले क्रिकेट प्रगतिका प्रत्येक पाइला चालिरहेका छौं । विश्व क्रिकेटको पावर हाउस मानिएको छिमेकीसँग जति धेरै सहयोग लिनसक्यो, पाइला त्यति नै रफ्तारमा अघि बढ्नेछ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१