बागमतीका ऊर्जा मन्त्री श्याम बहादुर खड्काको राजीनामा, बानियाँको पक्षमा खुले

बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्याम बहादुर खड्काले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले मंगलबार मुख्यमन्त्री बहादुर सिंह लामालाई राजीनामा पत्र बुझाएका हुन्।

यो घटनाक्रम कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको र त्यसमा मत विभाजनको तयारी भइरहेका बेला आएको हो। अविश्वास प्रस्तावमा हस्ताक्षर नगरेका खड्काले मन्त्री पद त्याग्दै आफू सांसद इन्द्रबहादुर बानियाँको पक्षमा उभिएको स्पष्ट पारेका छन्।

२०७९ पुस १३ मा भएको संसदीय दलको नेताको निर्वाचनमा खड्काले लामालाई समर्थन गरेका थिए।

यससँगै बागमती प्रदेशमा पदबाट राजीनामा दिने नेपाली कांग्रेसका मन्त्रीको संख्या पाँच पुगेको छ। यसअघि सहकारी मन्त्री मदुकुमार श्रेष्ठ, पर्यटन मन्त्री विमल ठकुरी, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले पनि राजीनामा दिइसकेका छन्।

यी सबै मन्त्रीहरूले सांसद बानियाँलाई समर्थन गर्ने घोषणा गरिसकेका छन्। कांग्रेसका ३७ सिट रहेको बागमतीमा अहिले बानियाँ संसदीय दलको नेताको रूपमा स्थापित हुने रणनीतिमा छन्।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१