
हाल प्रजनन केन्द्रमा ७८२ वटा गोही रहेका छन् । तीमध्ये यस वर्ष कोरलिएका बच्चा १८५ हुन् । अघिल्लो वर्षका १५३ हुन् भने बाँकी त्यस अघिका वर्षका हुन् । प्रजनन केन्द्रमा एउटा पुरानो भाले गोही छ । अन्यको भाले छुटिएको छैन ।
घडियाल गोही संकटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो । विगतमा पाकिस्तान, बंगलादेश, भुटान, म्यानमार लगायतका देशहरूमा समेत पाइने गरेको घडियाल अहिले नेपाल र भारतमा मात्रै पाइन्छन् । सन् १९४० को दशकमा यसको संख्या विश्वमा १० हजार जति रहेको पाइन्छ । सन् १९७० मा त्यसको २ प्रतिशत मात्रै संख्या अस्तित्वमा रहेको पाइएपछि संरक्षणमा चासो बढेको संरक्षणकर्मी बताउँछन् ।
चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि सन् १९७५ मा कसरामा घडियाल प्रजनन केन्द्र स्थापना गरिएको थियो । त्यतिखेर देशभरमा एक सयभन्दा कम संख्यामा घडियाल गोही रहेको अनुमान गरिन्छ । नदीमा बढ्दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन्, प्रदूषण, मान्छेले माछा मारेर खाने लगायतका कारण गोहीहरू प्राकृतिक बास स्थानमा असुरक्षित बनिरहेको थापामगरले बताए । नदीहरूमा बाढी आउँदा गोहीहरू बगेर सीमापारि पुग्ने समस्या रहेको छ । हरेक वर्ष नदीहरूमा गोही छाड्ने गरेको भए पनि अपेक्षाकृत रूपमा संख्या भने बढेको छैन ।