चौथोपटक म्याद थप, बुटवल-नारायणगढ सडक खण्ड निर्माणमा ढिलाइ

रुपन्देही । निर्माणाधीन बुटवल-नारायणगढ सडक खण्डको म्याद चौथोपटक फेरि एक वर्षका लागि थपिएको छ । आयोजनाले दिएको जानकारीअनुसार सन् २०२६ जुलाई २३ (वि.सं. २०८३ साउन ७) भित्र निर्माण सक्ने गरी म्याद थप गरिएको हो  ।

यही साउन ८ गते तेस्रो पटक थपिएको म्याद सकिएको थियो । वि.सं. २०७५ चैत ८ मा सुरु भएको राजमार्ग विस्तारको काम २०८२ असारसम्म आएर जम्मा ७० प्रतिशत मात्र सम्पन्न भएको सडक विभागले जनाएको छ । विस्तार भइरहेका सडक खण्डमध्ये दाउन्ने पूर्व र पश्चिम गरी दुई भागमा निर्माण भइरहेको छ ।

वर्तमान अवस्थामा बर्दघाटदेखि दुम्कीबाससम्म १४ किलोमिटर सडक र रुपन्देहीको घोडाहादेखि भलुहीसम्म र अन्य बीचबीचमा पुल तथा कल्भर्ट बनेका क्षेत्रबाहेक अन्यत्र सहज यातायात सञ्चालन भइरहेको आयोजनाले जनाएको छ  । दाउन्ने खण्डमा हाल ढलानको काम तीव्र गतिमा भइरहेको छ  ।

पूर्वी खण्डको म्याद २०८३ साउन ७ सम्म र पश्चिम खण्डको म्याद २०८३ साउन ५ सम्म थपिएको हो । नारायणगढ–बुटवल सडक खण्डलाई दाउन्नेदेखि पूर्व गैंडाकोटसम्म ‘पूर्वी खण्ड’ र दाउन्नेदेखि पश्चिम बुटवलसम्म ‘पश्चिम खण्ड’ नाम दिइएको छ  ।

सुरुमा चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले तीन वर्षभित्रै काम सक्ने शर्तमा राजमार्ग विस्तारको जिम्मा लिएको थियो । तर, तोकिएको समयमा काम नसकिएपछि पहिलो, दोस्रो र तेस्रो गरी तीनपटक एक–एक वर्षका लागि म्याद थप गरिएको थियो । यसपटक चौथोपटक फेरि एक वर्ष म्याद थपिएको हो  ।

कूल ११४ किलोमिटर लम्बाइको यस सडकको विस्तार कार्यको ठेक्का १७ अर्ब रुपैयाँमा सम्झौता भएको हो  । आयोजनाले म्याद त चौथोपटक थपिए पनि लागत भने नबढ्ने स्पष्ट पारेको छ  । ठेकेदार कम्पनी र कन्सल्ट्यान्टले २०८३ माघसम्मको समय माग गरेका थिए । तर आयोजना कार्यालयले २०८३ साउनभित्र काम सक्ने सर्तमा मात्र म्याद थप गरेको जनाएको छ  ।

एसियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित यस आयोजनाअन्तर्गत गैंडाकोटदेखि दाउन्नेसम्मको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार रुपैयाँ रहेको छ  । दाउन्नेदेखि बुटवलसम्मको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँ छ  ।

कूल ११४ किलोमिटर सडक खण्डमध्ये २९ किलोमिटर क्षेत्रमा चार लेन, बजार क्षेत्र पार गर्ने ७० किलोमिटर सडकमा ६ लेन, र दाउन्नेको करिब १४ किलोमिटर क्षेत्रमा तीन लेनको सडक निर्माणको काम भइरहेको छ  । सडक निर्माण पूरा भएपछि बुटवल–नारायणगढ यात्रा हालको तुलनामा करिब डेढ घण्टाले छोटिने अपेक्षा गरिएको छ  ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१