• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

सशस्त्र प्रहरीको सक्रियता, ११ करोडभन्दा बढी राजस्व सङ्कलन

दोधारा चाँदनी । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गणले आर्थिक वर्ष २०८१/८२ मा भन्सार छलीको सामानबाट ११ करोड ३२ लाख ७६ हजार ८७५ बराबरको राजस्व सङ्कलन गरेको छ ।

सशस्त्र प्रहरीले अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै तीन गुणा बढी राजस्व सङ्कलन गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण झलारीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक लाकेन्द्रदेव भट्टले अघिल्लो आवको तुलनामा अवैध रुपमा भन्सार छली चोरी नेपाल भित्र्याएका भन्सार छलीका सामान बरामद गरी कारबाही लागि भन्सार कार्यालय बुझाएको जानकारी दिए ।

उनका अनुसार आव २०८०/८१ मा चार करोड ७६ लाख ७९ हजार ४०० बराबरको भन्सार छलीका सामान बरामद गरिएको थियो । “सीमानाकाबाट हुने अवैध चोरी पैठारी नियन्त्रणमा कठडाइ गरेका छौँ”, सशस्त्र प्रहरी उपरीक्षक भट्टले भने, “अघिल्लो आवको तुलनामा झण्डै तेब्बर मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेका छौँ ।” उनले कञ्चनपुर जिल्लामा सिमानाकामा १८ वटा विओपी पोष्ट र तीन वटा सुरक्षा गुल्म रहेको बताए ।