• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

भारतमा पुन: बढ्न थाल्याे काेराेना, लगातार पाँचाै दिन थपिए तीन हजार बढी संक्रमित

काठमाडाैं । भारतमा २४ घण्टाको समयावधी अर्थात आइतबार मध्यरातिसम्म तीन हजार १२७ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ८२ हजार ३४५ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार बिहान जानकारी दिएको छ ।

विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनः नयाँ सङ्क्रमितको सङ्ख्या तीन हजार नाघेको यो लगातार पाँचौ दिन हो । थप एक दिनमा भएका कोरोनाका नयाँ सङ्क्रमति मध्ये ४७ प्रतिशत दिल्लीका रहेका समाचारमा जनाइएको छ । हाल राष्ट्रिय राजधानी दिल्लीमा ५ हजार ९९७ सक्रिय सङ्क्रमित रहेका छन् ।

यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप २६ जनाको मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २३ हजार ८४३ पुगेको छ । भारतभरी अझै पनि सक्रिय सङ्क्रमित १९ हजार ५०० जना रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा केही महिनायताबाट सक्रिय सङ्क्रमित घट्ने क्रम जारी रहेको थियो । तर केही हप्तायताबाट सक्रिय सङ्क्रमति बढेको पाइएको छ ।

२४ घण्टाको समयावधिमा २ हजार ७२३ जना कोरोना निको भएका छन् । हालसम्म चार करोड २५ लाख ३८ हजार ९७६ जना कोरोना सङ्क्रमित निको भएका छन् ।