
वासिङ्टन डिसी । अमेरिकाको विदेश मन्त्रालयले ६ हजारभन्दा धेरै विदेशी विद्यार्थीको भिसा रद्द गरेको छ । अमेरिकी कानुनको उल्लङ्घन गरेको तथा भिसामा तोकिएको म्याद सकिएपछि पनि अमेरिकामै बसेको भन्दै मन्त्रालयले उक्त कदम चालेको हो ।
उल्लङ्घनका अधिकांश घटना कुटपिट, मादक वा नशालु पदार्थ खाएर गाडी चलाएको, लुटपाटको घटनामा संलग्न भएको र आतंकवादलाई समर्थन आदिसँग सम्बन्धित भएको बताइएको छ ।
ट्रम्प प्रशासनले गैरकानूनी आप्रवासन र अन्तर्राष्ट्रिय विद्यार्थीमाथि कडाइ गरिरहँदा यो कदम चालिएको हो । विदेश मन्त्रालयले आतंकवालाई समर्थनको अर्थ के हो भनेर स्पष्ट खुलाएको छैन । तर ट्रम्प प्रशासनले प्यालेष्टाइनको समर्थमा विरोध प्रदर्शन गर्ने केही विद्यार्थीलाई निशाना बनाएको बुझिएको छ ।
भिसा रद्द हुनेमध्ये करिब चार हजारको भिसा कानुन उल्लङ्घनसँग सम्बन्धित रहेको मन्त्रालयले बताएको छ । अरू २०० देखि ३०० विद्यार्थी भिसा भने आतङ्कवादको कारण खारेज गरिएको भनिएको छ । यो वर्षको सुरुमा ट्रम्प प्रशासनले विदेशी विद्यार्थीको भिसा अपोइन्टमेन्ट शेड्यूल रोकेको थियो ।
जुन महिनामा यसलाई पुनः सुचारु गरिएको भए पनि आवेदकहरूले स्क्रिनिङका लागि आफ्नो सामाजिक सञ्जाल खाता पब्लिक बनाउनु पर्ने भनिएको थियो ।