
काठमाडौँ । माओवादी केन्द्रसहित ३ दलको फरक मतकाबीच विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित भएको छ ।
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलमा रहेको उक्त विधेयक समितिको बिहीबारको बैठकबाट बहुमतले पारित भएको छ । माओवादी केन्द्रसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फरक मत पेश गरेको हो ।
माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल, रेखा शर्मा, ज्ञानु बस्नेत, महिन्द्रराय यादवले फरक मत राखेका छन् भने रास्वपाका सांसद सुमना श्रेष्ठ र राप्रपाका सांसद बिना जैसवालले फरक मत राखेका हुन् ।
विधेयकमा लामो समयदेखि विवाद हुँदै आएको आवासीय विद्यालयमा छात्रवृतिको विषय पनि टुंगो लगाएको छ । जसमा सरकारले साढे २ प्रतिशत छात्रवृत्ति प्रस्ताव गरेकोमा ३ प्रतिशतमा सहमति भएको छ ।
बिहीबार पारित विधेयक आगामी प्रतिनिधि सभा बैठकमा पेश गर्ने समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए । उनका अनुसार उक्त विधेयक समितिमा करिब ९ महिना अघि २०८१ मंसिरमा आएको थियो ।