विद्या भण्डारीको खुलासा : ‘म राजनीतिमा लाग्दा एमालेको अस्तित्व नै थिएन’

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको जन्म हुनुभन्दा धेरै अघिदेखि आफू कम्युनिष्ट आन्दोलनमा सहभागी भएको बताएकी छिन् ।

बिहीबार काठमाडौँको थापाथलीमा सम्पर्क कार्यालय उद्घाटन सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् ।

‘मैले सबै कुरा नजिकबाट हेरिरहेको छु । म पनि राजनीतिक दलसँग आबद्ध भएर, हामी सुरु हुँदा नेकपा एमाले भन्ने जन्मिसकेको थिएन,’ भण्डारीले भनिन्, ‘म भोजपुरमा जन्मिएको मान्छे, धनकुटामा रातो झण्डा ग्रुप भन्ने थियो ।

हामी त्यसको सम्पर्कमा थियौँ । बिस्तारै कोअर्डिनेशन केन्द्र जन्मियो । त्यो हुँदै माले भयो । माले स्थापनाको पहिलो सन्देश छर्ने काम हामीले भोजपुरमा गरेका थियौँ ।’

उनले अहिले एमालेले के न हो भन्ने परिरहेको भन्दै ब्राण्डजस्तै बनाउन खोजिएको पनि बताइन् । माले र मार्क्सवादीको बीचमा एकता भएको हुनाले एकीकृत मार्क्सवादी लेनिनवादी (एमाले)भएको भण्डारीको भनाइ छ ।

‘एमाले भनेको एकदमै के हो भन्ने परिरहेको होला । एकीकृत मार्क्सवादी, लेनिनवादी हो । कम्युनिस्ट पार्टीले आफ्नो अगाडि एउटा उपमा झुन्ड्यायो । हामी मार्क्सवाद, लेनिनवाद मान्छौँ भनेका हौँ,’ भण्डारीले भनिन्, ‘मार्क्सवादी भन्ने छुट्टै पार्टी थियो, माले भन्ने छुट्टै थियो । माले र मार्क्सवादीको बीचमा एकता भएको हुनाले एकीकृत मार्क्सवादी लेनिनवादी भएको हो ।’

उनले अघि थप भनिन्, ‘अहिले एमाले भनेको एउटा ब्रान्डजस्तो भएको छ । खासमा नेकपा हो । नेपाल कम्युनिस्ट पार्टी ।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१