
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका उपसभापति र महामन्त्री गर्ने बैठक दिउँसो २ बजेका लागि सरेको छ ।
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार र उपसभामुख इन्दिरा रानामगरमाथिको पदीय आचरण विपरीतको कार्य गरेको भन्दै हटाउन भइरहेको गृहकार्यबारे छलफल गर्न देउवाले पार्टीका उपसभापति र महामन्त्रीहरूलाई बिहान १० बजे आफ्नै निवास बुढानीलकण्ठमा बोलाएका थिए ।
त्यो बैठक दिउँसो २ बजेका लागि सरेको महामन्त्री गगन थापाले रातोपाटीलाई जानकारी दिए । बैठकमा देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मालाई बोलाएका उनको सचिवालयले जानकारी दिएको छ ।
राज्य व्यवस्था तथा सुशासन समिति सभापति पद रिक्त भएको १५ दिन भदौ ११ गते पुग्ने भएकाले त्यसको ४८ घण्टा अगाडि निर्वाचनसम्बन्धी कार्यतालिका प्रकाशित गर्नुपर्छ । अर्कोतर्फ उपसभामुख रानामगरलाई पदीय आचरण विपरीत काम गरेको भन्दै कांग्रेस एमालेका सांसदहरूले हस्ताक्षर सङ्कलन गरिरहेका छन् । त्यो कार्यको पार्टीभित्रका इतर समूहका नेता डा.शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विरोध गरिरहेका छन् ।