‘०८४ मा म कहाँ पुग्छु भन्ने सोच्न बन्द गरौँ’ – गगन थापा

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेको समयमा पार्टीले डर, लोभ र अन्योलबाट मुक्त भएर देशप्रतिको जिम्मेवारी निर्वाह गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दे महामन्त्री थापाले यस्तो बताएका हुन् । पार्टीले ०८४ मा आफ्नो अवस्था कस्तो होला भन्ने मानसिकता त्यागेर अगाडि बढ्न जरुरी रहेको उनको भनाइ छ ।

‘यो बेलामा नेपाली कांग्रेस पार्टी केबाट मुक्त हुनुपर्छ भने २०८४ सालमा मेरो अवस्था के होला भन्ने कुराबाट मुक्त हुनुपर्छ,’ महामन्त्री थापाले भने, ‘यसपछि प्रधानमन्त्री आलोपालो भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले जुन भन्नुहुन्छ नि त्योबाट मुक्त हुनुपर्छ । उहाँले हामीलाई सम्झाउनु हुन्छ नि ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले हप्ता हप्तामा आलोपालो प्रधानमन्त्री बन्ने कुरा सम्झाउने गरेको उल्लेख गर्दै थापाले पद छोड्लान् कि नछोड्लान् भन्ने अन्योलमा बस्न नहुने जिकिर गरे ।

‘उहाँले छोड्नुहोला कि नहोला भन्ने अलमलबाट हामीले मुक्त हुनुपर्छ । यो समयमा हाम्रो पार्टीले गर्नुपर्ने कर्म सबै प्रकारको लोभ र डरबाट मुक्त भएर गर्‍यौँ भने पार्टीले आफ्नो जिम्मेवारी निर्वाह गर्छ जसरी हामीले गर्दै आएका छौँ,’ उनले भने, ‘नेपाली काँग्रेसका सबै कार्यकर्ता पनि लोभ र डरबाट बाहिर निस्कनुपर्नेछ । र नेपाली काँग्रेस पनि निस्कनुपर्नेछ ।’

महामन्त्री थापाले पार्टीभित्र पठन संस्कृतिको विकास गर्नको लागि साहित्यकारहरूलाई उत्प्रेरित गर्नुपर्ने धारणा समेत राखे ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१