
दीपेन्द्र सिंह ऐरीको अलराउन्डर प्रदर्शनमा नेपालले अष्ट्रेलियन क्रिकेट टेरिटोरी (एसिटी) लाई दोस्रो अभ्यास खेलमा ६ विकेटले हराएको छ। नेपालको यो लगातार दोस्रो जित हो।
जितको लागि ९७ रनको सहज लक्ष्य नेपालले १३ दशमलव २ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो।
ओपनर भीम सार्की ८ रनमा, आशिफ शेख ४ रनमा र कप्तान रोहित पौडेल ९ रनमा आउट भए। २५ रनमा ३ विकेट गुमाउँदै नेपालले सुरुवात खराब गरेको थियो।
त्यसपछि गुलशन झा र दीपेन्द्र सिंह ऐरीले चौथो विकेटको लागि ३९ रनको साझेदारी गरे। गुलशन २३ रनमा आउट भए।
३१ बल खेलेका दीपेन्द्रले १ चौका र ३ छक्कासहित अविजित ४२ रनमा रहँदै जित दिलाउन सफल रहे। आरिफ शेख अविजित ११ रनमा रहे।
पहिले ब्याटिङ गरेको एसिटीले १७ दशमलव २ ओभरमा सबै विकेट गुमाएर मात्र ९६ रन बनायो। एन ब्रोसले सर्वाधिक १६ रन बनाए।
केयोग, म्याक नमारा र टि हिगनले समान १५ रन बटुले। जे स्मिथले १० रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकको रन छुन सकेनन्।
सानदार बलिङ गर्न सफल नेपालको लागि दीपेन्द्र र सहाब अलामले समान ४ विकेट लिए। गुलशन र रोहितले १–१ विकेट लिए । यसअघि भएको पहिलो अभ्यास खेलमा नेपालले टेरिटोरीलाई ४१ रनले हराएको थियो।