
काठमाडौँ । नेपालको क्रिकेट इतिहासमा एक नयाँ अध्याय सुरु हुन लागेको छ। पहिलो पटक नेपालले अन्तर्राष्ट्रिय टेस्ट मान्यता प्राप्त टोली वेस्ट इन्डिजसँग आधिकारिक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्न लागेको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा असोज ११ देखि युएईको सारजाह क्रिकेट मैदानमा सुरु हुने यो तीन खेलको शृङ्खलाले नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय यात्रा थप प्रभावकारी र अर्थपूर्ण बनाउने अपेक्षा गरिएको छ।
ऐतिहासिक शृङ्खलाको तयारी र पृष्ठभूमि
नेपालले विगतमा पनि विभिन्न टेस्ट राष्ट्रहरूसँग राष्ट्रहरूसँग फाट्टफुट्ट खेल खेलेको भए तापनि यसरी औपचारिक रूपमा कुनै टेस्ट राष्ट्रसँग द्विपक्षीय शृङ्खला खेल्न लागेको यो पहिलो पटक हो। यो शृङ्खलाले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय क्रिकेटको मूलधारमा स्थापित गर्न मद्दत पुर्याउने विश्वास गरिएको छ।
वेस्ट इन्डिज दुई पटक ट्वान्टी–२० विश्वकप जितिसकेको टोली हो । वेस्ट इन्डिजको अनुभव, प्रतिष्ठा र खेल स्तरले नेपाली खेलाडीलाई नयाँ चुनौतीसँगै सिकाइको भरपुर अवसर प्रदान गर्ने छ। वेस्ट इण्डिज क्रिकेट टोलीको अस्ट्रेलियाविरुद्दको पछिल्लो टी-२० शृङ्खलाको कप्तानी अनुभवी खेलाडी शाई होपले गरेका थिए। उक्त स्क्वाडमा होपका अलावा रोस्टन चेस, म्याथ्यु फोर्डे, शिमरोन हेटमायर, जेसन होल्डर, अकील होसेन, अल्जारी जोसेफ, एभिन लुइस, रोभम्यान पोवेल, शेर्फान रदरफोर्ड र रोमारियो शेफर्ड जस्ता प्रमुख खेलाडीहरू रहेका थिए । नेपालविरुद्ध खेल्ने खेलाडीहरू पनि लगभग यिनै हुनेछन् । यी खेलाडीहरूविरुद्द मैदानमा उत्रँदा नेपाली टोलीको मनोबल बढ्ने निश्चित छ। साथै, यो प्रतियोगिताले नेपाली टोली अझ सशक्त बन्ने र प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा समेत छ।
तालिका हेरफेर
सुरुवातमा शृङ्खलाको दोस्रो खेल असोज १२ गते तय गरिएको भए पनि एसिया कप २०२५ को फाइनल खेल पनि सोही दिन युएईमै हुने भएपछि तालिकामा परिवर्तन गरिएको छ। हाल सार्वजनिक तालिका अनुसार नेपाल र वेस्ट इन्डिजबिचका खेलहरू सारजाहमा क्रमशः असोज ११, १३ (फूलपाती) र १४ गते हुनेछन्।
विगतका भिडन्तहरू र अनुभव
नेपाल र वेस्ट इन्डिज दुई देशीय सिरिजमा पहिलो पटक आमनेसामने हुने भए पनि मैदानमा भने वेस्ट इन्डिज नौलो टोली होइन। सन् २०२३ मा भएको आईसीसी विश्वकप छनौट खेलमा नेपालले वेस्ट इन्डिजको ओडीआई टोलीसँग प्रतिस्पर्धा गरिसकेको छ। उक्त खेलमा नेपालले २२८ रन बनाउन सफल भएको थियो । नेपालका आरिफ शेखले अर्ध शतक हिर्काउँदा नेपालका स्टार स्पिनर ललित राजवंशीले ३ विकेट आफ्नो पोल्टामा पारेका थिए ।
यसै गरी, २०२४ अप्रिलमा वेस्ट इन्डिज ‘ए’ टिमसँग पाँच अभ्यास खेलहरू भएको थियो, जहाँ नेपालले दुई खेलमा जित हात पार्न सफल भएको थियो। ती खेलमा विश्व प्रख्यात खेलाडीहरू—जस्तै रोस्टन चेस, ओबेड मेक्ओए, जोनसोन चार्लस, र फेबियन एलेन सहभागी थिए।
अस्ट्रेलिया भ्रमणपछि थप अनुभवसहितको टोली
नेपाली राष्ट्रिय क्रिकेट टोली अस्ट्रेलियाको एक महिना लामो भ्रमण सकेर हालै स्वदेश फर्किएको छ। त्यहाँ टप एन्ड टी–२० सिरिज र साउथ अस्ट्रेलियामा अभ्यास खेलहरू खेलेको नेपालले थुप्रै नयाँ अनुभव बटुलेको छ।
टप एन्ड टी–२० सिरिजमा नेपालले ६ मध्ये २ खेलमा जित हासिल गर्दै ४ खेलमा पराजय भोग्यो भने साउथ अस्ट्रेलियामा ५ अभ्यास खेलमध्ये ३ मा जित हात पार्यो। यी अनुभवहरूले नेपाललाई वेस्ट इन्डिज विरुद्धको शृङ्खलामा आत्मविश्वासका साथ प्रस्तुत हुने आधार तयार गरेको छ। साउथ अस्ट्रेलियामा त नेपालले एकै दिन दुई खेलसम्म खेल्यो जसमध्ये दुवै खेलमा नतिजा नेपालले आफ्नो पक्षमा पार्न सफल भयो ।
विश्वकप छनोटमा नजर
वेस्ट इन्डिज विरुद्धको शृङ्खलापछि नेपाली टोली ओमानतर्फ प्रस्थान गर्नेछ । त्यहाँ आईसीसी ट्वान्टी–२० विश्वकप एसिया एन्ड एसिया प्यासिफिक क्षेत्रीय छनोट आयोजना हुँदै छ। असोज २२ देखि ३१ सम्म चल्ने उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न सके नेपालले तेस्रो पटक टी–२० विश्वकपमा स्थान सुरक्षित गर्न सक्छ ।
भाग लिने टोलीमा नेपाल र ओमानसँगै जापान, कुवेत, मलेसिया, पपुवा न्यु गिनी, कतार, सोमाओ र युएईले प्रतिस्पर्धा गर्दै छन्। नौमध्ये तीन टोली आगामी वर्ष भारत र श्रीलङ्कामा हुने टी-२० विश्वकपमा छनोट हुनेछन्।
ओमान ,युएई र पपुवा न्यु गिनी उक्त प्रतियोगितामा नेपालका लागि तारो बन्न सक्छन्। टी-२० विश्वकप २०२६ का लागि हालसम्म १५ टोली भने छनोट भइसकेका छन्। जसमा आयोजक भारत र श्रीलङ्कासहित अफगानिस्तान, अस्ट्रेलिया, बङ्गलादेश, इंगल्याण्ड, अमेरिका, वेस्ट इन्डिज लगायत छन्।
आयोजकबाहेक अरू टोली टी-२० विश्वकप २०२४ को सुपर-८ मा पुगेका कारण छनोट भएका हुन्। वरीयताका आधारमा आयरल्यान्ड, न्युजिल्यान्ड र पाकिस्तान छनोट भएका छन्।
बाँकी ८ टोली क्षेत्रीय छनोटबाट विश्वकपमा पुग्नेमा युरोपबाट इटली र नेदरल्याण्ड छनौट भए भने अमेरिकी क्षेत्रबाट भने क्यानडाले स्थान सुनिश्चित गरेको छ। अब एसिया तथा इस्ट एसिया प्यासिफिकबाट ३ र अफ्रिकाबाट २ टोली विश्वकप २०२६ मा पुग्नेछन्।
युरोपबाट बलियो टोली मानिएको स्कटल्यान्डले विश्वकप खेल्ने मौका गुमाउँदा सोही क्षेत्रबाट इटालीले भने विश्वकपमा पहिलो अनुभव लिन गइरहेको छ ।
नेपालको ऐतिहासिक प्रगति र बढ्दो आत्मविश्वास
नेपाली क्रिकेट पछिल्लो एक दशकमा उल्लेखनीय प्रगति गरिरहेको छ। सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकपमा सहभागी भएको नेपालले बङ्गलादेश र अफगानिस्तानजस्ता शक्तिशाली टोलीहरूसँग प्रतिस्पर्धा गरेको थियो । विश्व प्रसिद्ध ठुला टोलीहरूसँग नेपाल खेलेको सम्भवतः सोही विश्वकपताका नै हो ।
सन् २०२३ को एसिया कपमा भारत र पाकिस्तानजस्ता बलिया टोलीहरूसँग प्रतिस्पर्धा गर्दै नेपालले आक्रामक र प्रभावशाली प्रदर्शन पनि गर्यो। भारतविरुद्धको खेलमा विशेष गरी नेपालका युवा ब्याट्सम्यानहरूको साहसी ब्याटिङले सबैको ध्यान खिचेको थियो। त्यसको ठिक एक वर्षपछि नेपालले जुलाई २०२४ मा टी-२० विश्वकपमा पनि सहभागिता जनायो । प्रतियोगितामा नेपालले साउथ अफ्रिका र बङ्गलादेशजस्ता बलिया टोलीहरूसँग प्रशंसनीय प्रदर्शन देखायो । साउथ अफ्रिकाविरुद्ध १ रनको हार र बङ्गलादेशविरुद्द नेपाली बलरहरूले गरेको कसिलो बलिङको चर्चा समग्र क्रिकेट जमातले गर्यो ।
वेस्ट इन्डिजको प्रभावशाली इतिहास र नेपाललाई अवसर
वेस्ट इन्डिज क्रिकेट टोली ट्वान्टी–२० क्रिकेटमा एक स्थापित ब्रान्ड हो। यस टोलीबाट विगतमा क्रिस गेल, आन्द्रे रसेल, ड्वेन ब्राभो, निकोलस पूरनजस्ता अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू खेलिसकेका छन्, जसले विश्व क्रिकेटमा ठुलो प्रभाव पारेका छन्। यद्यपि, यी खेलाडीहरू हाल नेपालविरुद्धको टोलीमा हुने छैनन् तर विश्वका विभिन्न फ्रेन्चाइज लिगहरूमा खेल्ने अनुभवी खेलाडीहरू सहभागी हुनेछन्।
यो नेपालका लागि अवसर र चुनौती दुवै हो। यदि नेपालले उत्कृष्ट प्रदर्शन गर्न सक्यो भने वेस्ट इन्डिजजस्तो बलियो टोलीलाई टक्कर दिएको उदाहरण अन्तर्राष्ट्रिय क्रिकेटमा ठुलो सन्देश बन्नेछ।
नेपाल क्रिकेट सङ्घका प्रवक्ता छुम्बी लामाले नेपाल र वेस्ट इन्डिजबिचको खेलले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन्। प्रवक्ता छुम्बी लामाले भने, “यो सिरिजको मुख्य उद्देश्य भनेकै आगामी विश्वकपको तयारी हो। वेस्ट इन्डिजजस्तो टेस्ट राष्ट्रसँगको प्रतिस्पर्धाबाट नेपाली खेलाडीले महत्त्वपूर्ण अनुभव लिनेछन्, जसले विश्वकप छनौट जस्तो ठुला प्रतियोगिता सहभागी हुँदै गर्दा खेलाडीको आत्मविश्वास बढाउनेछ।”
सिरिजपश्चात् नेपालको क्रिकेट तालिका अझै व्यस्त हुनेछ। वेस्ट इन्डिजसँगको सिरिजपछि नेपालले ओमानमा हुने विश्वकप क्वालिफायरमा भाग लिनेछ, त्यसपछि विश्वकप खेल्ने तयारीमा जुट्नेछ।
“नेपालले दुई पटक विश्वकप खेलिसकेको छ। अब अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने दृष्टिकोण नै फरक भइसकेको छ”, प्रवक्ता लामाले थपे, “हामी अब निरन्तर रूपमा व्यस्त क्रिकेट तालिकामा प्रवेश गरिसकेका छौँ।”
यही प्रसङ्गमा क्रिकेट विश्लेषक विराटजङ्ग रायमाझीले नेपाल र वेस्ट इन्डिजबिचको आगामी सिरिजलाई नेपाली क्रिकेटका लागि “नयाँ युग” को सुरुआत भएको बताएका छन्। उनका अनुसार यो सिरिज केवल खेल मात्र नभएर नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने ऐतिहासिक अवसर पनि हो।
“वेस्ट इन्डिजजस्तो टेस्ट राष्ट्रसँगको प्रतिस्पर्धाले विश्वकै नजर नेपालतर्फ तान्नेछ,” रायमाझीले भने, “नेपालले राम्रो प्रदर्शन गर्न सकेको खण्डमा, हारजितभन्दा ठुलो कुरा अनुभव र अन्तर्राष्ट्रिय एक्सपोजर हुनेछ।”
रायमाझीका अनुसार यो सिरिजमार्फत नेपालले अन्य टेस्ट राष्ट्रहरूसँग खेल्ने ढोका खोल्ने सम्भावना बलियो भएको छ। “यो नेपालको लागि एकदम ठुलो अवसर हो,” उनले थप जोड दिँदै भने, “राम्रो प्रदर्शन भयो भने विश्व क्रिकेटमै नेपालको नाम स्थापित हुने आधार तयार हुनेछ।”
भविष्यका सम्भावनाहरू
नेपाल क्रिकेट सङ्घ (क्यान) ले यो शृङ्खला आयोजना गरेर एउटा ऐतिहासिक कदम चालेको छ। वेस्ट इन्डिजसँगको शृङ्खला केवल तीन खेलको सीमामा मात्रै हैन, यो नेपाली क्रिकेटको भविष्यका लागि ढोका खोल्ने कूटनीतिक पहल पनि हो।
यसले अन्य टेस्ट राष्ट्रहरूसँग पनि द्विपक्षीय शृङ्खला खेल्ने सम्भावनालाई अझ प्रगाढ बनाउनेछ। नेपाली क्रिकेटलाई विश्वभर फैलाउने प्रयासमा यो शृङ्खला महत्त्वपूर्ण मोड बन्नेछ।
नेपाल र वेस्ट इन्डिजबिचको शृङ्खला केवल एक खेल प्रतियोगिता नभई नेपाली क्रिकेटको ‘लिटमस टेस्ट’ हो। यसले न केवल नेपाली खेलाडीहरूको क्षमताको परीक्षण गर्नेछ, भविष्यमा नेपाली क्रिकेट कहाँ पुग्छ भन्ने निर्धारण गर्न समेत सहयोग पुर्याउनेछ।
यदि नेपाली टोलीले मैदानमा उत्कृष्ट प्रदर्शन गर्न सक्यो भने यो शृङ्खला केवल ऐतिहासिक मात्र हुनेछैन, यो नेपाली क्रिकेटको भविष्यका लागि दिशानिर्देशक ‘माइलस्टोन’ पनि बन्नेछ।