• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

धराैटीमा छुटेका बानियाँका आफन्तले बयान फेर्न दबाब दिएकाे पीडितकाे आराेप

जुम्ला। मुगुका सांसद मोहन बानियाँ पाँच लाख धरौटीमा छुटेपछि उनका आफन्तले पीडितलाई धम्की दिन थालेकाे पीडितकाे भनाइ छ । बलात्कार आरोपमा जेल परेका सांसद बानियाँलाई जिल्ला अदालत बाँकेले पाँच लाख धरौटीमा छुटाएपछि उनका आफन्तहरूले अहिले बयान फेर्न भन्दै दबाब र धम्की दिन थालेकाे पीडितकाे दुखेसाे छ ।

पीडितका अनुसार धरौटीमा छुटिसकेपछि सामाजिक संजाल तथा टेलिफोनबाट बानियाँका आफन्तले बयान फेर्न दबाब दिने गरेका छन् । उनका आफन्त नरेन्द्रबहादुर रावलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बयान चेन्ज गर्न सकिन्छ कि हजुर के छ ? कुरो र कुलो जता लायो उतै जाने हो ।’

१६ फागुनमा पक्राउ परेका बानियाँविरुद्ध एक महिलाले नेपालगञ्जको अप्सरा होटलमा जबर्जस्ती करणी गरेको उजुर दिएकी थिइन । यसपछि बानियाँ सांसदबाट निलम्बन भएका थिए ।

पीडित महिलाले उनलाई धरौटीमा रिहा गरेर अन्याय भएको बताएकी छन् । उनले भनिन, ‘एक त आफू अन्यायमा छु त्यसैमा बानियाँका आफन्तबाट दबाब आउन थालेकाले छ । झनै असुरक्षित महसुस भइरहेको छ ।’

अन्तिम फैसला नहुँदै संसद छिर्ने बानियाँकाे प्रयास

प्रतिनिधि सभाका निलम्बित सांसद बानियाँ पदबहालीको निवेदनसहित एक महिनाअघि संसद् सचिवालय पुगेपछि संसद सचिवालयमा हलचल भएको थियो ।
बलात्कार आरोपमा थुना परेपछि पाँच लाख धरौटीमा छुटेका उनी पदबहालीको निवेदनसहित एक महिना अघि संसद सचिवालयमा पुगेका थिए ।

सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार उनी सचिवालयमा निवेदन लिएर आएका थिए । उनले भने, ‘उनको निवेदन दर्ता गरिएको छैन । उनी आउँदैमा हामीले निवेदन दर्ता गर्न मिल्दैन । हामी कानुनअनुसार अगाडि बढ्ने छौँ ।’ बाँके जिल्ला अदालतले २ चैतमा धरौटीमा उनलाई छोडेको थियो । मुगु खत्याड गाउँपालिका–३ का बानियाँ एमालेका समानुपातिक सांसद हुन् ।