• २०८३ जेठ २५
  • 2026 June 08, Monday

प्रधानमन्त्री बन्न तयार छु, तर संसद विघटन अनिवार्य छ : महावीर पुन (कुराकानीसहित)

काठमाडाैं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा सामाजिक अभियन्ता महावीर पुनले आफू देशको प्रधानमन्त्री बन्न तयार रहेको तर मन्त्री पद भने स्वीकार नगर्ने स्पष्ट पारेका छन्। उनले हालको राजनीतिक संकट समाधानका लागि संसद विघटन अनिवार्य रहेको ठोकुवा समेत गरेका छन्।

सामाजिक सञ्जाल तथा सार्वजनिक वृत्तमा प्रधानमन्त्रीका लागि आफ्नो नाम सिफारिस भइरहेको सन्दर्भमा हुलाक सञ्चारसँगको कुराकानीमा पुनले भने, ‘प्रधानमन्त्री बनाइदियो भने बन्ने हो के। अरु त बन्दैन, मन्त्री-सन्त्री केही बन्दैन।’ उनले प्रधानमन्त्री भए मात्रै देशका लागि बृहत् काम गर्न सकिने र सबैलाई मिलाएर लैजान सकिने तर मन्त्रीको भूमिका सीमित हुने भएकाले आफू उक्त पदमा नजाने प्रष्ट पारे।

पुनले हाल देशमा देखिएको युवा आन्दोलन र राजनीतिक संकटको सम्पूर्ण दोष पुराना नेताहरूलाई दिएका छन्। उनले नेताहरूको भ्रष्टाचार, लोभ र पद नछोड्ने प्रवृत्तिका कारण देशमा विकृति मौलाएको बताए। ‘नेताहरू साह्रै भ्रष्टाचारी र लोभी पापी नभएको भए यो आन्दोलन सुरु हुनै थिएन,’ उनले भने, ‘नेताहरूले चाकडी प्रथालाई बढावा दिएकाले भ्रष्टाचार बढ्यो र त्यसैको परिणामस्वरूप आन्दोलन जन्मियो।’

संकटको निकासका लागि सबै पक्ष मिलेर छलफल गर्नुपर्नेमा उनको जोड छ। ‘सबै मिलेर निकास खोज्नुपर्छ। एउटा राष्ट्रिय सरकार गठन गर्नुपर्‍यो,’ उनले भने। उनले आन्दोलनकारीहरूलाई समेत सामेल गराएर निष्कर्षमा पुग्नुपर्ने बताए।

वर्तमान राजनीतिक विवादको जडका रूपमा रहेको संसदबारे पुनको धारणा स्पष्ट छ। ‘संसद विघटन गर्नैपर्छ,’ उनले भने । उनका अनुसार, पुरानो संविधान र संरचनाको आधारमा नयाँ समाधान खोज्न सकिँदैन। उनले विश्व इतिहासमा कुनै पनि क्रान्ति वा आन्दोलन विद्यमान कानुन र संरचनाको दायरामा रहेर सफल नभएको तर्क गरे।

कुराकानीका क्रममा पुनले आफू किताब बेच्नका लागि ताप्लेजुङ जाँदै गरेको जानकारी पनि दिए।