
काठमाडौं । गत सोमबारको आन्दोलनमा घाइते भएका जेनजीहरुले आफूहरुको सहभागिता बिना बार्ता गर्नुको कुनै औचित्य नभएको बताएका छन् ।
नक्कली जेनजी बनेर बार्ताको लागि पार्टीको मान्छे पठाइएको बताउँदै उनीहरुले आफूहरुको अनुपस्थितिमा भएका कुनैपनि निर्णय मान्य नहुने बताएका हुन् ।
आन्दोलनमा आठवटा गोली लागेर सिभिल अस्पतालमा उपचाररत रुपिन खड्काले असली योद्धाहरु सबैलाई अस्पतालमा नै रहेको बताउँदै आफूहरुको सहभागिताविना गरिएको वार्ता स्वीकार्य नहुने धारणा राखे ।
उनले भने,‘हामी असली योद्धाहरु सबै अस्पतालमा छौं । त्यसैले वार्तामा लगेर हाम्रो माग के हो भन्ने कुरा राख्न पाउनुपर्यो । अगाडि बढेर गोली खान तयार हुनेहरु बिना वार्ता गरेर कुनै औचित्य छैन् । मर्न नडराएर गोली थापेर आएका हामी हौं । आन्दोलन केका लागि थियो त्यो हामीलाई मात्रै थाहा छ ।’
उनले अन्य पार्टीका मानिसहरुले अहिले पार्टीभित्रकै युवा अघि सारेर प्रपञ्च मच्चाइरहेको बताउँदै उनले अहिले रियल जेनजीहरु एक हुन आवश्यक रहेको पनि सुनाए ।
‘अन्य पार्टीका मानिसहरुले अहिले पार्टीभित्रकै युवा अघि सारेर प्रपञ्च मच्चाइरहेका छन् । यसलाई रोकेर हामी जेनजीहरु एक हुन आवश्यक छ । नत्र भने त्यही देशका नेताहरुले देश सखाप पार्ने अवस्था आउने छन् । त्यसको लागि पनि हामी एकदमै सर्तक हुुनुपर्ने आवश्यकता छ,’उनले भने
त्यस्तै अर्का घाइते नारायण श्रेष्ठले संसद विघटन जसरी पनि हुनुपर्ने माग गरे । संसद विघटन नभएदेखि आफूहरुले अस्पतालबाट निस्केर फेरी आन्दोलन सुरु गर्ने चेतावनी दिए ।
‘मलाई पनि रवरको गोली लागेको थियो । हाम्रो खास माग भनेको संविधानसहित सबै परिवर्तन हुनुपर्छ भन्ने हो । त्यसकै लागि छातीमा गोली खाइ खाइ लडेका थियौ । अहिले न्यूज हेर्दा जेनजी भनौदाहरुले संविधान ठिक छ, हामीले गल्ती बोल्यौ भन्दैछन् ।
उनीहरुलाई जेनजी मान्दैनौ । विद्रोह गर्न तयार छाैँ । यो संसद विघटन हुनुपर्छ । यो तपाईहरुले गलत निर्णय गर्नुभएको छ । आन्दोलन अझै रोकिदैन । अस्पतालबाट निस्केपछि अझै आन्दोलन हुन्छ र संसद विघटन हुनैपर्छ ।
उनले भने,‘उहाँ(सुशीला कार्की) नै आएपनि त्यसमा विमति छैन । तर संसद विघटन भएर प्रत्यक्ष रुपमा जनताबाट प्रधानमन्त्रीलाई भोट हाल्नुपर्छ । यो हाम्रो ठुलो माग हो । त्यसकै लागि लडेका हौं । यही संविधानलाई मान्नलाई होइन् । शान्तीपूर्ण आन्दोलन भइरहेको थियो, धेरै युवाहरु जुटेका थियौं । पहिलो दिनको आन्दोलनमा सबै जेनजीहरु नै थियौ । तर पुलिसको दमन सुरु भएपछि हिंसा भड्किएको थियो । मान्छे नै मारिएपछि अवस्था विग्रिएको हो ।’
त्यस्तै उनले मंगलबारको आन्दोलनमा सबै जेनजीहरुमात्र सहभागी भएर अन्य पार्टीको संलग्न नभएको बताए । सिंहदरवार जलाउने जेनजीको कुनै उद्देश्य नरहेको उनी बताउँछन् ।
‘भोलिपटकको आन्दोलनमा जेनजी मात्र थिएनन् । सिंहदरवार जलाइयो, त्यो जलाउने हाम्रो उद्देश्य थिएन । सिंहदरवार जलाउन आन्दोलन गरेको होइनौं । रवि लामिछने निकाल्न हामीले आन्दोलन गरेका हैनौ । यो हेक्का रहोस् ।’
उनले आफूहरुलेसँग जेनजीहरुले अहिलेसम्म केही सुझाव नलिएको बताउँदै कुनै पार्टीमा नलागेको निष्पक्ष युवा नेतृत्वमा ल्याउन सुझाव दिए ।