
नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी प्रमुख कुलमान घिसिङले आफूलाई मन्त्री बन्न प्रस्ताव नआएको बताएका छन् । हुलाक सञ्चारसँगको कुराकानीका क्रममा घिसिङले हालसम्म जेनजी वा अन्य कुनै पक्षबाट मन्त्री बन्नका लागि प्रस्ताव नगरेको बताएका हुन् ।
घिसिङले भने, “बाहिरतिर मन्त्रीका रूपमा मेरो नाम पनि चर्चा भइरहेको सुनेको छु, तर हालसम्म कसैले पनि मलाई मन्त्रीका रूपमा प्रस्ताव गरेको छैन ।”
पछिल्लो समय जेनजीको एक समूहले घिसिङलाई प्रधानमन्त्री बनाउन लबिङ गर्दै आएको थियो । तर जेनजीले अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीको नाममा सहमति गर्यो । फलस्वरूप, शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्दै शपथ समेत गराएका छन् ।
कार्कीले शपथ लिएपछि उनको मन्त्रिपरिषद्मा मन्त्री बन्ने पात्रहरूको खोजी सुरु भएको छ । संविधानले सङ्घीय मन्त्रिपरिषद् प्रधानमन्त्रीसहित बढीमा २५ सदस्य हुने व्यवस्था गरेको छ । कार्कीले राज्यमन्त्रीसहित अधिकतम २४ जनालाई मन्त्री बनाउन पाउने छिन् । तर कार्कीले सम्भवतः त्योभन्दा सानो मन्त्रिपरिषद् गठन गर्नेछिन् ।
विषम परिस्थितिमा सेवा प्रवाह, शान्ति सुव्यवस्था कायम गर्दै निर्वाचन गराउन सक्ने, मन्दीमाझको अर्थतन्त्रलाई गति प्रदान गर्न सक्ने, नियमित बिजुली आपूर्तिमा भइरहेको समस्या हल गर्न सक्ने जस्ता मन्त्री अहिलको आवश्यकता हो । यही आवश्यकताका माझ मन्त्री बनाइनुपर्ने व्यक्तिका रूपमा घिसिङको चर्चा सुरु भएको हो । धेरैले उनलाई उर्जामन्त्रीका रूपमा देख्न चाहेका छन् । प्राधिकरणमा हुँदा लोडसेडिङ अन्त्य गराएकै कारण घिसिङ उर्जामन्त्री बन्नुपर्ने धेरैको माग छ । केहीले भने उनले जुनसुकै मन्त्रालय हाँक्न सक्ने तर्क गरिरहेका छन् । यी तर्क र चर्चाका माझ घिसिङले भने आफूलाई मन्त्रीको प्रस्ताव नआइसकेको बताएका हुन् ।
“मन्त्रीको प्रस्ताव आएको खण्डमा जिम्मेवारी सम्हाल्न तयार हुनुहुन्छ?” भन्ने हुलाक सञ्चारको पूरक प्रश्नमा घिसिङले भने, “त्यसबारे सोचिसकेको छैन, प्रस्ताव आएपछि बिचार गर्छु ।”