
जेनजीका आन्दोलनका कारण तोडफोड र लुटपाटमा परेको भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा आएको छ । शनिबार एक विज्ञप्ती जारी गर्दै भाटभटेनीले तोडफोड र आगजनीबाट जोगिएका शाखा पुनः सञ्चालनमा ल्याइएको जनाएको हो ।
भाटभटेनीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘हामी पुनः फर्किएका छौं, तपाईंले सधैं विश्वास गर्नुभएको माया, सेवा र प्रतिबद्धतासहित।’
हाललाई भाटभटेनीका काठमाडौँ उपत्यकाभित्रको टोखा, सातदोबाटो, अनामनगर, सानागाउँ, त्रिपुरेश्वर, पाटन, कलंकी राधेराधे र बालाजुको स्टोर खुला भएका छन । उपत्यकाबाहिरका हकमा नेपालगञ्ज, जनकपुर, बुटवल, वीरगञ्ज, धनगढी, इटहरी र भैरहवाका शाखा सञ्चालनमा आएका छन । यही भदौ २३ र २४ गतेको जेनजी आन्दोलनकाश दौरान देशभरिका भाटभटेनी सुपरमार्केटमा तोडफोड र आगजनी गरिएको थियो ।
सुपरमार्केटले आगामी दिनहरूमा अझ उज्यालो र शान्त वातावरणतर्फ अघि बढ्ने विश्वास व्यक्त गर्दै उपभोक्तालाई नजिकका शाखाबाट खरिद गर्न भनेको छ । भाटभटेनीले आफू केवल पसल मात्र नभई ग्राहकको परिवार भएको उल्लेख गर्दै धैर्य, समर्थन र विश्वासका लागि ग्राहकलाई धन्यवाद ज्ञापन समेत गरेको छ।
देशभर भाटभटेनी सुपरस्टोरका २८ वटा शाखा छन् ।