• २०८३ असार २५
  • 2026 July 09, Thursday

८ दलका प्रमुख सचेतकहरूले भने- संसद् विघटनको निर्णय फिर्ता लेऊ

विभिन्न ८ दलहरूका प्रमुख सचेतकहरूले संसद् विघटनको निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्।

शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका संसदीय दलका प्रमुख सचेतकहरूले प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता लिन माग गरेका हुन् ।
उनीहरूले प्रतिनिधि सभा विघटनको निर्णय असंवैधानिक भएको जिकिर समेत गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, “भदौ २७ गते राति राष्ट्रपति कार्यालयबाट जारी भएको संसद् विघटनसम्बन्धी सूचना नेपालको संविधान, सर्वोच्च अदालतको नजिर र संवैधानिक परम्परा विपरीत छ।”

विज्ञप्तिमा नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमालेका हितराज पाण्डे, माओवादी केन्द्रका वीरेन्द्र प्रसाद महतो, एकीकृत समाजवादीका मेटमणि चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीका रामप्रकाश चौधरी, जनता समाजवादी पार्टीका प्रतिनिधि, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ र जनमत पार्टीकी प्रमुख सचेतक अनिता देवीको हस्ताक्षर छ ।