
काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) ले संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुने युनिटी कप टी-२० अन्तर्राष्ट्रिय सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ। वेस्ट इन्डिजविरुद्ध हुने ऐतिहासिक सिरिजका लागि क्यानले रोहित कुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो।
क्यानले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै टोलीको घोषणा गरेको हो। टोलीको उपकप्तानमा दीपेन्द्र सिंह ऐरीलाई जिम्मेवारी दिइएको छ।
सन् २०२४ सेप्टेम्बर २७ देखि ३० सम्म चल्ने यस सिरिजलाई नेपाली क्रिकेटको लागि एक महत्त्वपूर्ण अवसरको रूपमा हेरिएको छ। विश्व क्रिकेटको पावरहाउस मानिने वेस्ट इन्डिजसँगको प्रतिस्पर्धाले नेपाली खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने र अनुभव बटुल्ने राम्रो मौका प्रदान गर्नेछ।
घोषित टोलीमा कप्तान पौडेल र उपकप्तान ऐरीसँगै कुशल भुर्तेल, कुशल मल्ल, आसिफ सेख जस्ता अनुभवी ब्याट्सम्यानहरू समावेश छन्। त्यसैगरी, तीव्र गतिको बलिङ आक्रमण सम्हाल्न करण के सी, सोमपाल कामी र गुलशन झा छन् भने स्पिनतर्फ सन्दीप लामिछाने र ललित नारायण राजवंशीले जिम्मेवारी पाएका छन्।
टोलीमा लोकेस बम, आदिल आलम, सन्दीप जोरा, आरिफ सेख, नन्दन यादव र साहब आलमले पनि स्थान बनाएका छन्।
युनिटी कपका लागि घोषित नेपाली टोली:
१. रोहित कुमार पौडेल (कप्तान)
२. दीपेन्द्र सिंह ऐरी (उपकप्तान)
३. कुशल भुर्तेल
४. लोकेस बम
५. कुशल मल्ल
६. आसिफ सेख
७. आदिल आलम
८. करण के सी
९. नन्दन यादव
१०. सन्दीप लामिछाने
११. सन्दीप जोरा
१२. आरिफ सेख
१३. ललित नारायण राजवंशी
१४. गुलशन झा
१५. सोमपाल कामी
१६. साहब आलम