भारत–पाकिस्तान ‘म्याच’: खेलाडीहरुबीच न ‘मन’ मिल्यो, न हात

पूजा परस्तिशको एक गजलको पंक्ति छ, ‘तेरे मेरे बीच रही अब पहले जैसी बात कहाँ’ (तिम्रो र मेरो बीचमा अब पहिले जस्तो कुरा कहाँ रह्यो र)। आइतबार एसिया कपमा भारत र पाकिस्तानबीच खेलिएको खेलमा यो पंक्ति पूर्ण रूपमा मेल खान्छ।

किनभने, दुई देशबीचको यो पछिल्लो खेलमा न त कुनै रोमाञ्च देखियो, न त खेलाडीहरूबीच कुनै आत्मीयता। भारतले यो खेल सात विकेटले जित्यो, तर मैदानमा सबैभन्दा बढी पहलगाममा भएको हमलाको असर स्पष्ट रूपमा देखिन्थ्यो।

यस पटक जब दुई देशका क्रिकेटरहरू मैदानमा आमनेसामने भए, तब न उनीहरूको ‘मन मिल्यो’, न त खेलको परम्परा कायम राख्न उनीहरूले हात मिलाए। जम्मू-कश्मीरको पहलगाममा गत अप्रिलमा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीचको तनाव चरम सीमामा पुगेको थियो। त्यसपछिको यो पहिलो अवसर थियो, जब दुवै देशका क्रिकेट टोलीहरू आमनेसामने भएका थिए।

कप्तान सूर्यकुमार यादवले खेलपछि पहलगाम हमलाको उल्लेख गर्दै जितलाई भारतीय सेनाप्रति समर्पित गरे। उनले भने, ‘म केही समय लिन चाहन्छु। हामी पहलगाम हमलाका पीडितहरूको साथमा छौँ। हामी यो जित हाम्रो सेनालाई समर्पित गर्दछौँ, जसले हामीलाई सधैँ प्रेरित गरिरहन्छ।’

यता, पाकिस्तान क्रिकेट टोलीका कप्तान सलमान अली आगाले प्रस्तुति समारोहका क्रममा अन्तर्वार्ता दिन अस्वीकार गरे।

खेलाडीहरूले हात मिलाएनन्

कप्तान सूर्यकुमार यादवले भारतीय पारीको १५औँ ओभरको पाँचौँ बलमा विजयी छक्का प्रहार गरेपछि उनी क्रिजमा रहेका शिवम दुबेसँग सिधै ड्रेसिङ रुमतिर लागे। सामान्यतया, क्रिकेट खेलमा जितपछि विपक्षी टोलीका खेलाडीहरूसँग हात मिलाउने परम्परा छ, तर उनीहरूले मैदानमा रहेका पाकिस्तानी खेलाडीहरूसँग हात मिलाएनन्।

पाकिस्तानका खेलाडीहरू पनि भारतीय खेलाडीहरूसँग हात मिलाउन अघि सरेनन्। यहाँसम्म कि भारतीय टोलीका अन्य खेलाडीहरू पनि ड्रेसिङ रुममै बसे र खेल सकिएपछि मैदानमा आउन चाहेनन्।

दुई देशबीचको तनावको असर टसको समयमा नै देखिएको थियो, जब भारतीय कप्तान सूर्यकुमार यादवले टस जितेपछि पाकिस्तानी कप्तान सलमान अली आगालाई बधाई दिन हातसमेत मिलाएनन्।

विगतका अविस्मरणीय क्षणहरू

यो दृश्य विगतका खेलहरूभन्दा बिल्कुलै फरक थियो, जहाँ खेलाडीहरूबीचको मित्रताले सधैँ चर्चा पाउने गर्थ्यो।

सन् २०२३ को विश्वकप: पाकिस्तानको टोली भारत आउँदा भारतीय कप्तान रोहित शर्मा र तत्कालीन पाकिस्तानी कप्तान बाबर आजम खेलअघि हाँसो-ठट्टा गरिरहेको देखिएको थियो।

सन् २०२३ को एसिया कप: भारतीय तीव्र बलर जसप्रित बुमराह बुबा बनेको केही दिनपछि नै प्रतियोगिता खेल्न पुगेका थिए। पाकिस्तानी बलर शाहिन शाह अफ्रिदीले बुमराहका लागि उपहार लिएर आएका थिए र बधाई दिएका थिए।

सन् २०२२ को एसिया कप: विराट कोहलीले पाकिस्तानका तीव्र बलर हरिस रउफलाई आफ्नो हस्ताक्षरसहितको जर्सी उपहार दिएका थिए।

सन् २०२२ मा बाबरको समर्थन: जब विराट कोहली खराब फर्मबाट गुज्रिरहेका थिए, तब बाबर आजमले उनको समर्थनमा ट्वीट गर्दै लेखेका थिए, ‘यो समय पनि बित्नेछ।’

सन् २०२१ को टी-२० विश्वकप: विश्वकपमा पाकिस्तानले भारतलाई पहिलो पटक हराउँदाको क्षण। हारका बाबजुद, तत्कालीन कप्तान विराट कोहलीले पाकिस्तानी क्रिकेटर मोहम्मद रिजवानलाई न्यानो अँगालो हालेर जितको बधाई दिएका थिए। त्यो तस्बिरले दुवै देशका क्रिकेट प्रेमीहरूको मन जितेको थियो।

तर, यस पटकको खेलमा देखिएको चिसोपनले भारत-पाकिस्तान क्रिकेटमा राजनीतिक तनावको गहिरो प्रभावलाई उजागर गरेको छ।

– भारतीय सञ्चारमाध्यमको सहयोगमा

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१