काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा चितवनको भरतपुरमा बिहीबार आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न नजाने भएका छन् ।
महामन्त्री थापाको सचिवालयले थापा चितवनको कार्यक्रममा सहभागी नहुने जनाएको हो । उनी बिहीबार नेपाली कांग्रेस काठमाडौं महानगर कार्य समितिको आयोजनामा अनुपम फुडल्यान्डमा हुने कार्यक्रममा सहभागी हुने बताइएकाे छ ।
यसैगरी, नेपाली कांग्रेसका अर्का नेता शेखर काेइराला पनि सभामा उपस्थित नहुने बताइएकाे छ ।
भरतपुरमा हुने गठबन्धनको सभामा थापा र कोइराला पनि आउने जानकारीसहित बुधबारदेखि नै प्रचार भइरहेको छ ।
गठबन्धन दलका नेताहरूले बिहीबार चितवनको भरतपुर महानगरपालिकामा हुने चुनावी सभालाई सम्बोधन गर्न लागेका छन् । सभालाई सम्बोधन गर्न कांग्रेस सभापतिको हैसियतमा प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा बुधबारै चितवन पुगिसकेका छन् ।
गठबन्धनका अन्य दलहरू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले पनि चुनावी सभा सम्बाेधन गर्ने बताइएकाे छ ।