
कक्षा १२ को स्थगित भएको मौका (पूरक) परीक्षाको तालिकासहित नयाँ मिति सार्वजनिक गरिएको छ। यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेनजी आन्दोलन हिंसात्मक बनेपछि स्थगित गरिएको थियो।
राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा ११ र १२ को परीक्षा नियन्त्रण कार्यालयले संशोधित तालिका सार्वजनिक गर्दै अब परीक्षा असोज ७ र ८ गते सञ्चालन हुने जानकारी दिएको छ।
नयाँ तालिका अनुसार, असोज ७ गते अनिवार्य अंग्रेजी (कोड 0041) को परीक्षा हुनेछ। यदि परीक्षार्थीले केवल एक विषयमा पूरक परीक्षा दिन लागेका छन् भने उनीहरूको परीक्षा पनि यही दिन हुनेछ। दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि सानो कोड भएको विषयको परीक्षा पहिलो दिन हुनेछ। तर, जसले अनिवार्य अंग्रेजी र नेपाली दुवै विषयमा परीक्षा दिनु पर्नेछ, ती परीक्षार्थीले पहिलो दिन अंग्रेजी र दोस्रो दिन नेपालीको परीक्षा दिनुपर्नेछ।