• २०८३ असार २५
  • 2026 July 09, Thursday

गुण्डुमा सार्वजनिक भए ओली: नेतासँग छलफल, कार्यकर्तासँग फाेटो खिच्न व्यस्त

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हाल भक्तपुरको गुण्डुस्थित डेरामा पार्टीका नेता तथा कार्यकर्तासँग नियमित भेटघाट गर्दैछन् । जेनजी आन्दोलनकै दबाबमा भदौ २४ गते प्रधानमन्त्री पद छाडेका उनी हाल नेतृत्त्व जोगाउने रणनीतिमा सक्रिय देखिएका छन् ।

बालकोटस्थित निवास प्रदर्शनकारीले जलाएपछि ओली गुण्डुमा सरेका हुन् । राजीनामा दिएलगत्तै करिब १० दिनसम्म नेपाली सेनाको सुरक्षामा बसेका उनी अहिले नयाँ डेराबाटै पार्टी गतिविधि सम्हालिरहेका छन् ।

डेरा सरेको दिनदेखि नै उनले पार्टीका पदाधिकारी, केन्द्रीय सदस्यदेखि सामान्य कार्यकर्ता भेट्ने क्रम सुरु गरेका छन् । भेटघाटको व्यवस्था एमाले नेता महेश बस्नेतले मिलाइरहेको बताइन्छ । मंगलबार मात्रै ओलीलाई भेट्न आउनेहरूको भीड लागेको थियो । यद्यपि, उनले औपचारिक कार्यक्रमहरुमा भने भाग लिएका छैनन् ।

दशैं नजिकिँदै गरेकाले तत्काल ओली कुनै सार्वजनिक कार्यक्रममा नदेखिने बुझिएको छ । उनका सहयोगीहरूका अनुसार, चाडपर्व सकिएपछि मात्रै उनले सार्वजनिक गतिविधि थाल्ने सम्भावना छ ।

जेनजी आन्दोलनपछि पार्टीभित्र उत्पन्न समीकरणलाई ख्याल गर्दै ओली नेताहरूलाई आफ्नो पक्षमा तान्ने प्रयासमा छन् । नेतृत्त्व परिवर्तनको दबाब बढ्दाबढ्दै पनि उनले सहजै पद नछोड्ने अडान लिएका छन् । बरु सचिवालयमै बहुमत जुटाउने रणनीतिमा लागेका छन् ।

युवापुस्ताले पार्टीको परम्परागत शैलीमा परिवर्तन गर्नुपर्ने माग गर्दै आएका छन् भने ओली यी चुनौतीलाई चिर्ने तयारीमा छन् । उनी आफ्ना निकटस्थहरूसँग विदेशी घुसपैठका कारण आन्दोलनले उग्र रूप लिएको दाबी गर्दै आएका छन् ।