दशैंमा घरघरमा मासु र चिल्लो खानेकुराको महत्त्व असाध्यै बढ्छ । सामान्यत: भन्दा बढी परिकार तयार हुन्छन्, खसीको मासु, कुखुराको सेकुवा, भुटनदेखि सुकुटीसम्म । तरकारी, सागसब्जीचाहिँ प्लेटमा ‘सजावट’ मात्र हुने अवस्था देखिन्छ ।
आर्थिक रूपमा कमजोर परिवारले समेत ऋणधन गरेर भए पनि मासु खाइराखेका हुन्छन्। नेपाली समाजमा दशैंजस्ता चाडपर्व माछा–मासुविना अधुरो ठानिन्छ । तर आवश्यकताभन्दा बढी मासु र चिल्लो खाने बानीले शरीरलाई नसोचेको हानी पुर्याउन सक्छ ।
दशैँमा मासु खाँदा ध्यान दिनुपर्ने कुराहरू
राम्ररी पकाउनुहोस्: मासुलाई सधैँ राम्ररी पाक्ने गरी पकाएर मात्र खानुहोस्। झोलिलो बनाएर खाँदा पाचनमा सजिलो हुन्छ र शरीर सुक्खा हुन पाउँदैन।
सही समय र मात्रा: मासु बिहान वा दिउँसोको समयमा खानु उत्तम हुन्छ। एकैपटक धेरै नखानुहोस्, थोरै-थोरै गरेर खानु स्वास्थ्यकर हुन्छ।
भुटेको र तारेको कम: धेरै भुटेको, तारेको, पोलेको (सेकुवा) र सुकुटी जस्ता खानेकुरा सकेसम्म कम गर्नुहोस्। यसले पेटमा समस्या र कब्जियत बढाउन सक्छ।
फाइबरयुक्त खानेकुरासँगै खानुहोस्: मासुसँगै फाइबरयुक्त खानेकुरा जस्तै: मुला, काँक्रो, स्याउ र हरियो सागपात पनि खानुहोस्। यसले पाचन प्रणालीलाई सहयोग गर्छ र कब्जियत हुन दिँदैन।
यात्रामा खानपान
घरको खाजा: लामो यात्रामा हुनुहुन्छ भने घरबाटै बनाएको खाजा लैजानु सबैभन्दा सुरक्षित हुन्छ।
ताजा र तातो: बाटोमा खानै परे, ताजा फलफूल वा भर्खरै पकाएको तातो खानेकुरा मात्र छान्नुहोस्।
बासी खानाबाट बच्नुहोस्: बासी र जथाभावी राखिएका खानेकुराबाट बच्नुहोस्, यसले फुड पोइजनिङको जोखिम बढाउँछ।
सामान्य तर महत्वपूर्ण सुझावहरू
प्रशस्त पानी पिउनुहोस् : दिनभरि प्रशस्त मात्रामा पानी पिउनुहोस्। यसले शरीरलाई डिहाइड्रेसन (पानीको कमी) र कब्जियतबाट बचाउँछ।
पर्याप्त आराम : रमाइलो गर्ने नाममा राति धेरै ढिलोसम्म नबस्नुहोस्। पर्याप्त आरामले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ।
(डा. सुवर्ण पाैडेलसँगको कुराकानीमा आधारित)