नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारलाई नेपाली जनताको सरकार नभएको दाबी गरेका छन्। बिहीबार एमाले भक्तपुर जिल्ला कमिटीले गुण्डुमा आयोजना गरेको कार्यक्रममा उनले भने, “यो नेपालीको सरकार होइन।”
ओलीले गृहमन्त्रीलाई आफूले नचिनेको तर सम्हाल्न सुझाव दिएको र राजनीतिलाई ख्यालठट्टा नठान्न चेतावनी पनि दिएका छन्। उनले वर्तमान प्रधानमन्त्रीले पदमा पुग्न संसद् भंग गर्ने पूर्वसर्त राखेको उल्लेख गर्दै, यसले जनताको सर्वोच्च सार्वभौम संस्थाको र लोकतन्त्रको आधारलाई कमजोर बनाएको बताए।
अध्यक्ष ओलीले प्रधानन्यायाधीश र न्यायाधीश भएको व्यक्तिले प्रधानमन्त्री वा मन्त्रीको कुर्सीमा बस्न मिल्दैन भन्ने संविधानको व्याख्या उद्धृत गर्दै, सरकार चुनाव तर्फ ध्यान नदिएको बताए।
उनले आफू र रमेश लेखकलाई राति मीटिङपछि पक्राउ गरेको र पासपोर्ट रोक्का गरिने, उपत्यका छाड्न नदिने प्रयास भएपनि त्यसबाट डराउँदैन भन्ने बताए। साथै जेन–जी आन्दोलनमा बालबालिकालाई आगो र पेट्रोल फ्याँक्न लगाउनेलाई सरकारले कारबाही नगरेकोप्रति गम्भीर असन्तुष्टि व्यक्त गरे।