काठमाडौं । दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट बलिङ र फिल्डिङमा नेपालले यूएईविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ ।
नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो ।
यूएईका लागि अलिशान सराफूले अर्धशतकीय पारी खेलेपनि पर्याप्त हुन सकेन । उनले ५८ रन बनाए । ध्रुव पराशरले ३८ रन बनाए ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर आसिफ शेखको अर्धशतक मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनाएको थियो ।
आसिफले ४७ बलमा ५१ रन बनाए । त्यस्तै, कुशल भुर्तेलले २८ रन तथा कप्तान रोहित पौडेले २० रन बनाए । गुल्शन झाले ५ बलमा १४ रन बनाएर आउट भए ।
युएईलाई अन्तिम ओभरमा १० रन चाहिएको थियो । बलिङमा दीपेन्द्रसिंह ऐरी थिए भने ब्याटिङमा युएईका ध्रुव परासर र जाहिद अली थिए। पहिलो बलमा अलीले एक रन लिए। दोस्रो बलमा परासरले रन लिन सकेनन् ।
तेस्रो बलमा परासरले दीपेन्द्रलाई छक्का प्रहार गरे। त्यसपछि युएईलाई तीन बलमा तीन रन चाहियो । तर चौथो बलमा दीपेन्द्रले परासरलाई सन्दीप जोराबाट क्याच गराए ।
त्यसपछि युएईलाई दुई बलमा तीन रन चाहियो । पाँचौ बलमा रन लिने क्रममा हैदर अली रनआउट भए । अन्तिम बलमा दुई रन लिने क्रममा जाहिद अलि पनि रन आउट भएपछि युएईले १३९ रन मात्र जोड्न सक्यो भने खेल नेपालले एक रनले जित्यो ।
नेपालले अन्तिम ओभरको अन्तिम तीन बलमा विकेट लिँदा जित सम्भव भएको हो ।