नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघले चुनावअघि नै पार्टीको नियमित महाधिवेशन गर्न पार्टीको ध्यानाकर्षण गराएको छ।
पार्टीमा नियमित वा विशेष महाधिवेशनको बहस भइरहँदा, नेविसंघले २५ असोजमा बसेको केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्दै, जेनजी आन्दोलनले उठाएका भ्रष्टाचार र बेथिति विरुद्धको आवाजलाई संस्थागत अभियानको रूपमा अघि बढाउने जनाएको छ।
नेविसंघले संविधानिक अंगहरूमा नियुक्ति दलीय भागवण्डाबाट मुक्त हुनुपर्ने माग गरेको छ। साथै, पार्टी, संसद, संघीय, प्रदेश र स्थानीय तहका निकायहरूमा युवा र विद्यार्थी प्रतिनिधित्व कम्तीमा ४० प्रतिशत सुनिश्चित गर्न पनि आग्रह गरेको छ।
साथै, नेविसंघले पार्टीका सबै तहका पदाधिकारी र सदस्यहरूले प्रत्येक वर्ष आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने नीति अवलम्बन गर्नुपर्ने पनि माग गरेको छ।
नेविसंघको निर्णयमा भनिएको छ, “पार्टीलाई भ्रष्टाचार र बेथितिबाट मुक्त गर्दै सुशासन र पारदर्शिता प्रवर्धन गर्नका लागि, पार्टीका इकाई सभापति, क्षेत्रीय सभापति, जिल्ला सभापति, केन्द्रीय सदस्य, पदाधिकारी तथा केन्द्रीय सभापतिसम्मका सम्पत्तिको अद्यावधिक विवरण प्रत्येक वर्ष सार्वजनिक गर्नुपर्नेछ।”
त्यसैगरी, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले जेनजी आन्दोलन भडकाउने अभिव्यक्ति दिएका विषयमा पनि छानविन हुनुपर्ने माग नेविसंघले गरेको छ।