• २०८३ जेठ २२
  • 2026 June 05, Friday

‘मोन्था’ले ल्यायो मनसुनझैँ झरी, कहिलेदेखि खुल्छ मौसम ?

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका मध्यदेखि पूर्वी भूभागसम्म बिहानैदेखि वर्षा भइरहेको छ। काठमाडौंमा बिहीबार बिहान छिटपुट वर्षा भए पनि अहिले मध्यम वर्षा भइरहेको छ।

वर्षाको क्रम निरन्तर बढ्दै जाने प्रक्षेपण मौसमविद्हरुले गरेका छन् । गएको मंगलबार र बुधबार अरब सागर हुँदै नेपालको पश्चिमी क्षेत्रबाट प्रवेश गरेको वायुले पश्चिमी क्षेत्रमा हिमपात गराइरहँदा बङ्गालको खाडीमा विकसित ‘मोन्था’ चक्रवात बिहीबार नेपाल प्रवेश गरेपछि वर्षा बढेको हो । यो चक्रवातको असर नेपालका पूर्वी र पूर्वी तराई क्षेत्रमा बढी हुने पूर्वानुमान मौसमविद्हरुको छ ।

मौसमसम्बन्धी जानकार तथा विज्ञ धर्म उप्रेतीका अनुसार बंगालको खाडीमा विकसित ‘मोन्था’ नामक चक्रवातको प्रभाव नेपालमा सुरु भइसकेको छ। उनका अनुसार काठमाडौंलगायत देशका पूर्वी र मध्य भागमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

‘अब लगातार वर्षा हुन्छ। दिउँसो र राति थप सक्रिय हुनेछ। शुक्रबार बिहानैदेखि वर्षा अझ बढ्ने देखिन्छ। मनसुनकै झझल्को दिनेछ,’ उप्रेतीले भने।

उनका अनुसार यस चक्रवातको प्रभावले पूर्वी तराई र मधेस प्रदेशका जिल्लामा बढी क्षति पुर्‍याउने आशंका छ।

यसैगरी, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेलका अनुसार अहिले भइरहेको वर्षा पश्चिमी वायुको सक्रियता र मोन्था चक्रवातको आंशिक प्रभाव मिसिँदा भएको हो। बिहीबार अपरान्हदेखि भने मोन्थाको असर बढी देखिनेछ ।

‘बिहीबार रातिदेखि भोलिसम्म धेरै ठाउँमा वर्षा हुन सक्छ । ठूलो वर्षा भन्दा पनि लगातार पानी परिरहने देखिएको छ’, बिहीबार र शुक्रबार दिनभर झरि परिरहे पनि शनिबार दिउँसोदेखि मौसममा सुधार आउनेछ’ उनले भने ।

जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस र बागमती प्रदेशका सबै जिल्लामा सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, गोरखा, नवलपुर, नवलपरासी, रूपन्देही, कास्की, म्याग्दी, गुल्मी, पाल्पा, बागलुङ, स्याङ्जा, तनहुँ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला लगायतका जिल्लामा पनि मौसमसम्बन्धी अद्यावधिक सूचनामा रहन सुझाव दिएको छ।

‘हुदहुद’पछि फेरि ‘मोन्था’

सन् २०१४ मा अक्टोबर दोस्रो सातामा बङ्गालको खाडी हुँदै भारत प्रवेश गरेको ‘हुदहुद’ नामक समुद्री आँधीका कारण नेपालभरि वर्षा भएको थियो। उक्त आँधीका कारण नेपालका उच्च हिमाली क्षेत्रमा करिब ४० जनाको ज्यान जाने गरी विनाशकारी हिमपात र हिमपहिरोका घटनाहरू भएका थिए।

यो वर्ष पनि मनसुनको अन्त्यतिर असोजमा आएको बाढीले पूर्वी नेपालमा ठूलो क्षति पुर्‍याएको थियो। असोजको बाढीमा ५० जना भन्दा धेरैको ज्यान गएको थियो। नेपालमा पछिल्ला केही वर्षयता अक्टोबरमा ठूलो वर्षा भइरहेको छ ।

चक्रवात के हो ?

चक्रवात एक विशाल वायु प्रणाली हो, जुन कम दबाबयुक्त क्षेत्रको केन्द्र भागबाट चारैतिर तीव्र गतिमा घुम्छ। यसको प्रमुख विशेषता नै चक्रजसरी घुम्ने हावाको उच्च वेग हो, जुन उत्तरी गोलार्धमा घडीको सुईको विपरीत दिशामा र दक्षिणी गोलार्धमा सुईको दिशामा घुम्छ।

यस्तो चक्रवातले सागरको नमीयुक्त हावा तानेर वर्षा र आँधी ल्याउँछ। जब यो जमिनमा ठोक्किन्छ, यसको शक्ति क्रमशः कमजोर बन्छ।

कसरी राखियो चक्रवातको नाम ‘मोन्था’ ?

उत्तरी हिन्द महासागर क्षेत्रमा आउने चक्रवातहरूको नाम त्यहाँका १३ सदस्य मुलुकहरूले पालैपालो चयन गर्छन्। ‘मोन्था’ नाम थाइल्यान्डले सुझाएको हो, जसको अर्थ थाई भाषामा ‘सुगन्धित’ वा ‘सुन्दर फूल’ हुन्छ।

सन् २००० मा विश्व मौसम संगठन र संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक आयोगको संयुक्त पहलमा चक्रवातका नाम राख्ने चलन सुरु भएको हो।

त्यतिबेला समूहमा बंगलादेश, भारत, माल्दिभ्स, म्यानमार, ओमान, पाकिस्तान, श्रीलंका र थाइल्यान्ड थिए। पछि इरान, कतार, साउदी अरब, युएई र यमन पनि थपिए। यी सबै देशहरूले १३–१३ वटा नामको सूची पेश गर्छन्, जसबाट १६९ नाम तयार हुन्छन्। नयाँ चक्रवात बनेपछि त्यसै सूचीबाट पालैपालो नाम चयन गरिन्छ।

नेपाल समुद्रविहीन देश भएकाले विश्व मौसम संगठनमा भए पनि चक्रवातको नाम राख्ने अधिकार पाउँदैन।