सुर्खेतमा प्रचारप्रसारका लागि झण्डा राखिएका स्कार्पियो र मिनीबसमा आगजनी

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर मङ्गलगढी चोकमा स्थानीय तह निर्वाचनको प्रचारप्रसारका लागि झण्डा राखिएका दुई गाडीमाथि आगजनी गरिएको छ ।

शनिबार अपराह्न २ बजे वीरेन्द्रनगर नगरपालिका–६ मङ्गलगढी चोक नजिकै सत्कार होटल सडक छेउमा रोकी राखेको बा१४च ६८३१ नम्बरको नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसको झण्डा राखिएको स्कार्पियो गाडीमा अपरिचित व्यक्तिले आगजनी गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

उनका अनुसार आगजनीबाट स्कार्पियोको पछिल्लो टायर जलेको र प्रहरीले तत्काल आगो नियन्त्रण लिँदा बाँकी क्षति हुनबाट जोगिएको छ ।

यता प्रहरीले आगो नियन्त्रण गर्दैगर्दा मङ्गलगढी चोकबाट ७०० मिटर पश्चिममा रहेको तीनतोली होटल अगाडि रोकी राखेको अर्को गाडीमा अपरिचित व्यक्तिले आगो लगाएको उनले बताए । तीनतोली होटलमा रोकेको नेकपा (एमाले)को झण्डा र माइक राखेको क प्र ०२–००१ प ००६१ नम्बरको मिनीबसमा आगजनी गरिएको थियो ।

प्रहरी र दमकलको सहयोगमा अपराह्न ३ बजे आगो नियन्त्रणमा लिइएको जानकारीसहित प्रहरी नायब उपरीक्षक घर्तीले मिनीबसका सबै सिट जल्नुका साथै सिसा फुटेको बताए । आगजनी गर्ने व्यक्ति फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१