काठमाडौं । देशको पश्चिमी भूभागमा आगामी दुई दिन हल्का वर्षा र हिमपात हुने पूर्वानुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।
महाशाखाका अनुसार मंगलबार र बुधबार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहनेछ। यस प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा वर्षा र हिमपात हुनेछ ।
विशेषगरी यी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। काठमाडौं र देशको पूर्वी भागमा वर्षा वा हिमपात हुने सम्भावना भने कम रहेको महाशाखाले जनाएको छ ।
मौसमसम्बन्धी जानकार विनोद पोखरेलले पनि पश्चिम नेपालमा हल्का वर्षा हुने सम्भावना औँल्याएका छन्।
उनका अनुसार, ‘कमजोर पश्चिमी वायुले मंगलबार अपराह्नदेखि पश्चिम नेपालमा हल्का वर्षा गराउनेछ। काठमाडौंमा पानी पर्ने सम्भावना छैन, तर बादल आउन सक्छ।’
उक्त प्रभाव सकिएपछि मौसम फेरि घमाइलो हुने र वायु प्रदूषण बढ्ने सम्भावना रहेको उनले बताए। मौसमविद्ले ठूलो पानी पर्ने सम्भावना नरहेको स्पष्ट पारेका छन्।
यसअघि बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’, अरबसागरमा बनेको न्यूनचापीय प्रणाली र पश्चिमी वायुको प्रभावले देशका धेरै भागमा वर्षा भएको थियो। त्यसयता मौसम पूर्ण रूपमा सफा भइसकेको छैन।