• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

फुटबल खेलाडीहरुको फुटबलमा रमाउने आधारहरु खोसिए भन्दै एन्फा मुख्यालय अगाडि फुटबल समर्थकहरुको धर्ना

काठमाडौं । नेपाली फुटबलको मेरुदण्ड मानिने शहिद स्मारक ‘ए’ डिभिजन लिग निरन्तर स्थगन भएकाविरुद्ध ललितपुरस्थित एन्फा मुख्यालय अगाडि फुटबल समर्थकहरुले धर्ना दिएका छन् ।
नेपाल फुटबल खेलाडी संघको आयोजनामा सेभ नेपाल फुटबल अभियान संचालन गरिएको हो । सोही अभियान अन्तरगत आजको धर्ना कार्यक्रम भएको हो ।

सोही क्रममा खेलाडी संघको अध्यक्ष विक्रम लामाले आजको खेलाडीहरु बोल्न र आफ्नो अधिकारको लागि लड्न सक्ने भएको भन्दै अधिकारको लागि धर्नामा आएको बताए ।
उनले भने, ‘नेपाली फुटबलमा जुन वेतिथि भइरहेको छ, खेलाडीहरुले खेल्न पनि पाइरहेका छैनन् । तर अब खेलाडीहरु चुप लागेर बस्दैँनन् । खेलाडीहरु बोल्न सक्ने छौ, बोल्छौ र हाम्रो अधिकार हामी माग्छौ । त्यसको लागि नै हामी आज धर्नामा आएका छौ ।’

यस्तै, उनले धेरै समयदेखि रोकिएको ‘ए’ डिभिजन लिगले नेपालमा फुटबल खेलाडीहरुको फुटबलमा रमाउने आधारहरु खोसिए भन्दै ‘ए’ डिभिजन लिगको माग राख्दै आन्दोलनमा आएको बताए ।
शान्तिपूर्ण धर्नाको लागि आएका खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघले गेटबाट पनि छिर्न नदिएको भन्दै खेलाडीहरुको महत्व संघले नबुझेको पनि उनको भनाई छ ।