• २०८३ जेठ २२
  • 2026 June 05, Friday

हातको ट्याटू पुनर्लेखन गरेर सीतारामको सन्देश– ट्राफिक नियम पालना गरौँ !

काठमाडौं । ललितपुर महानगरपालिकाको नगर प्रहरी प्रमुख सीताराम हाछेथुले आफ्नो बायाँ हातमा खोपिएको ‘ट्राफिक नियम पालना गरौँ’ भन्ने ट्याटू पुनर्लेखन गरेका छन् ।

जेनजी आन्दोलनपछि दिन प्रतिदिन सवारी दुर्घटना बढ्न थालेकोले भन्दै उनले ट्राफिक नियम पालना ट्राफिक प्रहरीको लागि नभइ आफ्नो लागि भएको महसुस गराउन ट्याटू पुनर्लेखन गरेको बताए ।

जेनजी आन्दोलनकाक्रममा ट्राफिक प्रहरी कार्यालयमा आगलागी गरेपछि ट्राफिक नियम पालना नगरे पनि हुन्छ भन्ने गलत सोचका कारण दिन प्रतिदिन सवारी दुर्घटना पर्न थालेको उनको भनाइ छ ।

२९ वर्ष ट्राफिक प्रहरीमा रहेर सेवा गरेका हाछेथु हाल ललितपुर महानगरपालिकाको नगर प्रहरी प्रमुखको भूमिकामा छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जेनजीको आन्दोलनमा ट्राफिक प्रहरीको खाने, बस्ने ठाउँ र युनिफर्म जलाइ ध्वस्त बनाइदिए पछि अब ट्राफिक नियम पालना नगरे पनि हुन्छ भन्ने सोचमा परेको ब्यक्तिहरु दिन प्रतिदिन सवारी दुर्घटनामा पर्न थालेकोले ‘ट्राफिक नियम पालना’ ट्राफिक प्रहरीको लागि गर्ने होइन, आफूलाई हो भने कुरा महसुस हुँदैछ । मेरो हातमा कोरिएको अस्पष्ट हुँदै गएको अक्षर पुनः लेखन गरी स्पष्ट पारिएको छ ।’