• २०८३ जेठ २२
  • 2026 June 05, Friday

महानगरपालिकाभित्र फोहर, प्लाष्टिक तथा प्लाष्टिकजन्य बस्तु बाल्न प्रतिवन्ध,प्रतिपटक १० हजार रुपियाँ जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाको खुला ठाउँमा प्लाष्टिक, प्लाष्टिकजन्य बस्तु र फोहर बाल्न रोक लगाएको छ ।
चिसो बढेसँगै फोहर, प्लाष्टिक र अन्य बस्तु खुला ठाउँमा बाल्ने क्रम बढेको भन्दै यस्ता बस्तु बाल्न रोक लगाइएको वातावरण व्यवस्थापन विभागले जनाएको छ ।

विभागका अनुसार जाडो महिनामा काठमाडौं उपत्यकाको वायु प्रदुषणको स्तर अत्याधिक रुपमा बढ्ने गरेको छ । प्रदुषण बढ्नमा यसरी खुला रुपमा बालिने बस्तुको महत्वपूर्ण हिस्सा रहेको विभागका प्रमुख सरिता राईले बताइन् ।उनले भनिन्, ‘जनस्वास्थ्य र वातावरणमा पर्ने प्रतिकुल असर घटाउन यसप्रकारको निर्णय गरिएको हो ।’

वायु प्रदुषणले बालबालिका, जेष्ठ नागरिक, दम खोकी जस्ता श्वासप्रश्वासका बिरामी, मुटुमा समस्या भएका तथा दीर्घ रोगको सामना गरिरहेका व्यक्तिहरुलाई बढी असर गर्छ । ती व्यक्तिहरुसँगै सहरबासी सबैको स्वास्थ्य र वातावरण जोगाउन खुला रुपमा बस्तु बालेर धुँवा उत्सर्जन घटाउनुपर्छ ।
राईले भनिन्, ‘महानगरपालिकाले जारी गरेको प्रतिबन्ध सम्बन्धी अनुरोध कसैले अटेर गरेमा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ तथा आर्थिक ऐन, २०८२ बमोजिम कारबाही हुनेछ ।’
यस व्यवस्था बमोजिम प्रतिपटक १० हजार रुपियाँ जरिवाना हुनेछ ।