• २०८३ जेठ २२
  • 2026 June 05, Friday

अमेरिकी इतिहासकै सबैभन्दा लामो ‘गभर्मेन्ट शटडाउन’ अन्त्य गर्ने सहमति

संयुक्त राज्य अमेरिकामा इतिहासकै सबैभन्दा लामो ‘गभर्मेन्ट शटडाउन’ अन्त्य गर्ने सहमति पारित भएको छ। अमेरिकी संसद्‌को माथिल्लो सदन सिनेटले मतदानमार्फत उक्त सहमतिको अनुमोदन गरेको हो।

रिपब्लिकन र डेमोक्र्याट सिनेटरहरूबीच लामो छलफलपछि बनेको सहमतिको पक्षमा कैयौँ डेमोक्र्याट सांसदहरूले पनि मतदान गरेका छन्। यससँगै ४० दिनदेखि जारी संघीय सरकारको आंशिक बन्दावस्था (शटडाउन) अन्त्य हुने भएको छ।

अक्टोबर १ देखि संघीय सरकारको बजेट पारित नहुँदा सरकारी खर्च रोकिएको थियो। त्यसको असर स्वरूप १४ लाख संघीय कर्मचारीहरू बेतलबी बिदामा बस्न वा तलबबिनै काम गर्न बाध्य भएका थिए।

सहमतिको प्रावधानअनुसार शटडाउन अवधिमा भएको कर्मचारी कटौती तथा अनिवार्य बिदा सम्बन्धी निर्णय उल्ट्याइनेछ। साथै, जनवरी महिनाभरिका लागि अस्थायी स्रोतको व्यवस्था गर्ने पनि उल्लेख छ।

अमेरिकी सञ्चार माध्यम सीबीएसका अनुसार, आगामी डिसेम्बर दोस्रो सातामा स्वास्थ्य बीमा भुक्तानी कर कटौती सम्बन्धी मुद्दामा मतदान हुने सहमति पनि भएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मतदानअघि पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै, ‘शटडाउन छिट्टै अन्त्य हुन्छ,’ भनेका थिए। तर उनले सम्झौताको पूर्ण कार्यान्वयन कहिलेदेखि सुरु हुन्छ भन्ने विषयमा भने स्पष्ट बताएका छैनन्।

शटडाउनले अमेरिकी दैनिक जीवनका थुप्रै क्षेत्रमा असर पारेको थियो। एकै दिन करिब १४ सय उडानहरू रद्द भएका थिए। एअर ट्राफिक कन्ट्रोल, फूड एन्ड न्युट्रिशन असिस्टेन्स प्रोग्राम र सीडीसीलगायतका संस्थाहरू प्रभावित भएका थिए।

यसअघि सन् २०१८ मा पनि अमेरिकामा ३५ दिन लामो शटडाउन भएको थियो। तर यसपटकको अवधि अमेरिकी इतिहासमै सबैभन्दा लामो बनेको छ।

राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टी बजेटसम्बन्धी विधेयकलाई कुनै संशोधनबिना पारित गर्न चाहन्थ्यो। तर सिनेटमा आवश्यक ६० मत नपुग्दा प्रस्ताव पारित हुन सकेन, किनभने रिपब्लिकनसँग मात्र ५३ मत थिए।

डेमोक्र्याट सांसदहरूले स्वास्थ्य सेवासम्बन्धी एजेन्डा समावेश नगरी बजेट पारित गर्न अस्वीकार गरेपछि शटडाउन सुरु भएको थियो।