• २०८३ जेठ २२
  • 2026 June 05, Friday

मधेशमा १८ वर्ष नपुग्दै विवाह गर्ने महिलाको संख्या ४२ प्रतिशत

सर्लाही । कानुनी कडाई र निरन्तर जनचेतनामूलक अभियान चलाइँदै आएको भए पनि मधेसमा उमेर नपुगी विवाह हुने सङ्ख्या अझै विकराल अवस्थामा रहेको पाइएको छ  । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणले उमेर नपुग्दै हुने विवाहको दर मधेसमा अन्य प्रदेशको तुलनामा अझै धेरै रहेको देखाएको हो ।

२०७८ को जनगणनाबाट तयार पारिएको प्रतिवेदन अनुसार मधेसमा १० वर्ष नपुग्दै विवाह हुने घटनासमेत दर्ता भएका छन्। यस्तै यस्तो उमेरसमूहको विवाहको दर ०.२ प्रतिशत रहेको उल्लेख छ । १० देखि १४ वर्ष उमेरका बालबालिकामध्ये ९.३ प्रतिशतले विवाह गरेको पाइएको छ भने १५ देखि १७ वर्ष उमेरको समूहमा यो दर २७.७ प्रतिशत पुगेको छ ।

१८ देखि २० वर्षभित्रका युवायुवतीमध्ये ३९.५ प्रतिशतले वैवाहिक जीवनमा प्रवेश गरेका छन्। यस समूहमा पुरुषको औसत उमेर २० वर्ष रहेकामा महिलाको औसत उमेर भने १७ वर्षकै आसपास देखिएको छ, जसले मधेसमा महिलाहरू अझै पनि कम उमेरमै विवाह गर्न बाध्य हुने अवस्था रहेको देखाउँछ

मधेशमा १८ वर्ष नपुग्दै विवाह गर्ने महिलाको संख्या ४२.४ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ। समग्रमा हेर्दा मधेसमा पहिलो विवाहको औसत उमेर १८ वर्ष र पुरुषका लागि २० वर्ष र महिलाका लागि १७ वर्ष देखिन्छ । उमेर समूह अनुसार हेर्दा २१ देखि २४ वर्षबीच विवाह गर्नेहरूको संख्या १४.५ प्रतिशतमा सिमित छ, जसले कम उमेरमै वैवाहिक बन्धनमा बाँधिने प्रवृत्ति मधेसमा अझै बलियो रहेको संकेत गर्छ ।

यस विकराल अवस्थालाई हेर्दै मधेश प्रदेश सरकारले २०७८ सालमै सन् २०३० सम्म प्रदेशलाई बालविवाहमुक्त क्षेत्र बनाउने लक्ष्यसहित १० वर्षे रणनीति सार्वजनिक गरेको थियो। यसअघि पनि प्रदेश सरकारले बालविवाहलाई दुरुत्साहनका लागि गरेका पहलहरुले पछिल्ला वर्षहरूमा उत्साहजनक सुधार हुँदै आएको छ ।