काठमाडाैं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
आउँदो सोमबार, मङ्सिर १ गतेदेखि सुरु हुने प्रतियोगिताको सबै तयारी सकिएको क्यानका महासचिव पारस खड्काले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।
मङ्सिर २७ गतेसम्म चल्ने यो प्रतियोगिता पहिलोपटक फ्लडलाइटमा समेत आयोजना हुनेछ।
प्रतियोगिताको विजेता टोलीले पुरस्कार स्वरूप एक करोड १० लाख प्राप्त गर्नेछ। त्यसैगरी, उपविजेताले ५१ लाख, तेस्रो हुनेले २५ लाख तथा चौथो स्थानमा रहने टोलीले १५ लाख पाउनेछन्।
एनपीएलको दोस्रो संस्करणमा कुल आठ फ्रेञ्चाइज टोलीको सहभागिता रहनेछ। उद्घाटन खेल पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच हुनेछ।
यसैगरी, एनपीएलको दोस्रो सिजनमा करिब ३५ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ।
पत्रकार सम्मेलनमा क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काले पेस गरेको विवरण अनुसार विज्ञापनबाट करिब १५ करोड ४० लाख रुपैयाँ आम्दानी हुनेछ।
त्यस्तै, ८ वटा फ्रेन्चाइज टिमबाट ९ करोड रुपैँया कमाउँदा ओटीटी प्लेटफर्मबाट ५ करोड ३० लाख आम्दानी हुने अनुमान गरिएको छ। एनपीएलको ओटीटी प्लेटफर्मको अधिकार डिश होम गो एपले पाएको छ। त्यहाँबाट हुने आम्दानीमध्ये ७१ प्रतिशत क्यानले पाउने छ।
त्यस्तै, रंगशालामा टिकट बिक्रिबाट करिब ८ देखि १२ करोड रुपैयाँसम्म उठ्ने अनुमान क्यानले गरेको छ। यसरी क्यानको कुल आम्दानी ३० देखि ३७ करोड रुपैयाँसम्म हुने अनुमान क्यानको छ।